बाँके अहिले पानी प्रयोगका लागि भूमिजलस्रोतमै निर्भर रहेको छ । बढ्दो जनसंख्या, सहरीकरण, बजारीकरण, उद्योग, कलकारखाना, होटल, व्यवसायको वृद्धि सँगै पानीको माग बढिरहँदा ती सबैका लागि पानी स्रोत हालसम्म भूमिगत जल नै रहेको छ । जमिनबाट पानी निकालेर प्रयोग गरिरहँदा त्यसले जमिनमूनि पानीको सतह त घट्दै जान्छ, भोलिका दिनमा विकराल समस्या निम्तिन सक्छ । खासगरी गर्मीको समयमा बाँकेकै कतिपय ठाउँमा धाराहरू सुक्दा खानेपानीको समस्या भएको समाचार सञ्चारमाध्यममा आउने गरेको छ ।
नेपालगन्जमा खानेपानीका भूमिगत जलस्रोतको प्रयोग हुँदै आएको छ । खानेपानी संस्थान होस् वा व्यक्तिका घर वा व्यवसाय पानीका लागि भूमिगत स्रोतकै प्रयोग हुँदै आएको छ । हाते पम्प, ट्युववेल, डिप बोरिङ्ग लगायतका माध्यमबाट उपलब्ध खानेपानी नेपालगन्जमा उपलब्ध छ । शुद्ध पानी उपलब्ध गराउने पानी उद्योगीहरूले पनि भूमिगत जलस्रोतकै प्रयोग गरिरहेका छन् ।
नेपालगन्जमा पानीका लागि भूमिगत जलस्रोतको निर्भरता हटाउनका लागि बर्षौ अघि सुरु भएको एउटा परियोजनाले अझै पूर्णता पाउन सकेको छैन । २०७४ मा दुई बर्षमा सक्ने लक्ष्य लिइएको योजना सक्न अझै कति समय कुर्नुपर्ने हो निश्चित छैन । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण कार्य सुरु गरेको थियो ।
नेपाल खानेपानी संस्थानले नेपालगन्ज उपमहानगरपालिकाको खानेपानीको आपूर्तिका लागि दीर्घकालीन योजना बनाएर राप्तीनदीबाट पानी ल्याउने योजनाको काम अख्तियारमा उजुरीदेखि जग्गा विवाद, सडक विवाद, मुआब्जा, बजेट अभाव लगायतका कारण अझै पूर्ण हुन नसकेको हो ।
भूमिगत जलस्रोतबाट खानेपानीको आपूर्ति गर्दै आएका नेपालगन्जबासीका लागि दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न राप्तीबाट पानी प्रशोधन गरी ल्याउने योजना २०७३ साल असारमै सुरु भएको थियोे । तर, योजनाको औपचारिक रूपमा २०७४ सालमा मात्रै सुरु भएको थियो । आयोजना सुरुवात हुँदा २०७६ असारसम्म सक्ने योजना बनाइएको थियो ।
खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ आयोजनाको काम ८० प्रतिशत सकिएपनि पूर्णता हुन अझै समय लाग्न सक्ने बताउँछन् । ‘काम भैरहेको छ, केही समस्या अहिले पनि छ’, उनले भने । उनले राप्तीनदीमा मुहान क्षेत्र सम्पवेल रहेको जग्गा निजी व्यक्तिको भएपछि मुद्दा प्रक्रियाका कारण ढिलाई भएको उल्लेख गर्दै उक्त जग्गा खरिद प्रक्रिया पनि अघि बढिसकेको जानकारी दिए । ‘जग्गाका सम्बन्धमा मन्त्रालयबाट टोली गठन भै प्रतिवेदन समेत बनिसकेको छ’, श्रेष्ठले भने, ‘अब खरिद प्रक्रिया अगाडि बढ्छ ।’
खानेपानीको पाइपलाइन राप्तीनदीदेखि फुल्टेक्रासम्म बिछ्याइसकिएको खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् । ‘त्यसयता सडक खन्नका लागि सडक विभागमा १ करोड ९१ लाख धरौटी राख्ने बजेट उपलब्ध छैन, त्यसका लागि अन्य वैकल्पिक व्यवस्थाका लागि पनि छलफल भैरहेको छ’, उनले भने ।
खानेपानी संस्थान नेपालगन्जका प्रमुख श्रेष्ठ हाल संस्थानको कबरेज क्षेत्रमा पर्याप्त मात्रामा पानी उपलब्ध गराइएको बताउँदै दीर्घकालीन रूपमा पानीको आपूर्तिका लागि राप्तीनदीकै पानी आवश्यक पर्ने बताउँछन् । हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग नेपालगन्ज क्षेत्रमा अहिले करिब पाँच हजार उपभोक्ता आबद्ध छन् ।