१. राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गरी देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट मानवीय क्षतिसमेत भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो ।
२. सरकारले वितरण गरिसकेका राष्ट्रिय परिचयत्रको उपयोगिता नै स्पष्ट नगरेपछि छापिएका परिचयत्रहरु समेत जिल्ला प्रशासन कार्यालयहरुमा अलपत्र परेका छन् ।
३. सोमबार हुने भनिएको शिक्षक महासंघको कार्यसमिति घोषणा सभा स्थगित भएको छ । महासंघका मुख्य घटक संस्थाहरू नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघबीचको विवाद नमिलेकाले कार्यसमिति घोषणा सभा स्थगित भएको हो ।
४. बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।
५. विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।
६. पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
७. नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा सोमबार उक्त सम्झौता भएको हो ।
८. विद्यार्थी संख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्को विद्यालयमा गाभिएको हो ।