१. मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका छन् । संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।
२. मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको एसएसपी गोविन्द थपलियाले बताए ।
३. सरकारले नचाहिँदा पूर्वाधार आयोजना खारेज वा स्थगन गर्ने विकल्प अघि सारेको छ ।
नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुने आयोजनालाई यथेष्ट बजेट विनियोजन गर्ने घोषणा गर्दै खराब आयोजनाहरू खारेज गर्ने विकल्प नीति तथा कार्यक्रममा गरिएको हो ।
४. सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख गरेको छ ।
५. प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् ।
६. सर्वोच्च अदालतमा मंगलबारदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालित रुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले मंगलबार उक्त सेवाको शुभारम्भ गर्दै अनलाइनबाट मुद्दा दर्ता गर्न पाउँदा दुरदराजका मानिसलाई सहज, सरल र सुविधा हुने विश्वास व्यक्त गरे ।
७. झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । वि.सं. २०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघनडुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता वन कार्यालयमा थन्किएका छन् ।
८. चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ ।