जसै गर्मी चढ्न थाल्छ, नेपालगन्जमा विद्युत संकट गहिरिदिन गर्छ । गर्मीले आत्तिएका बेला विद्युत् सेवा अवरुद्ध हुँदा हुने सास्ती विरुद्ध आक्रोश पनि बेलाबेलामा उत्पन्न हुने गरेको छ । त्यसको निशानामा नेपाल विद्युत् प्राधिकरण पर्दै आएको छ ।
त्यसो हो भने गर्मी अगावै विद्युत आपूर्तिको सहज व्यवस्थापन गर्न प्राधिकरणले किन पूर्व तयारी गर्दैन ? नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने भन्छन्, ‘हामी पूर्व तयारीमा लागिसकेका छौं ।’
प्राधिकरण के गर्दैछ ? जसका कारण यसपटकको गर्मीमा विद्युत संकट न्यूनीकरण होस्, दैनिक नेपालगन्जको प्रश्नमा प्राधिकरणका नेपालगन्ज वितरण केन्द्र प्रमुख लामिछानले विद्युत् आपूर्तिको सहज उपलब्धताका लागि गरिएका फेहरिस्त सुनाउँदै भने, ‘यसपटक सायद अघिल्ला बर्ष जस्तो समस्याको पुनरावृत्ति नहोला ।’
प्राधिकरणले यसबीच विद्युतको पावर सप्लाई सिष्टमलाईलाई सुधार गरिरहेको जनाएको छ । ‘पावर ट्रान्सरफरलाई आठ एमभीएबाट दोब्बर बनाइएको छ’, प्राधिकरण प्रमुख लामिछानेले यसले ‘लो भोल्टेज÷हाइभोल्टेज जस्तो भोल्टेज ड्रप कम गर्न सहयोग पुर्याउने’ जानकारी दिंदै भने, ‘क्यापासिटर बैंक पनि जडान गरिएको छ ।’
प्राधिकरणले ट्रान्सफरमर अपग्रेड गर्ने, नयाँ थप्ने काम पनि भैरहेको जनाएको छ । ‘सानो साइजको तार फेरेर ठूलो साइजको कन्डक्टर फेरिएको छ’, लामिछानेले दैनिक नेपालगन्जसँगको जिज्ञासामा भने, ‘यो बर्ष अघिल्लो बर्षको तुलनामा ७ देखि १० मेगावाटसम्म लोड थपिने अनुमान गरेर त्यसको पूर्व तयारी गरिरहेका छौं ।’
यसबीच ३५ वटा ट्रान्सफर्मर थप गरि सकिएको प्राधिकरणले जनाएको छ । ‘अरू ३० वटा ट्रान्सफर्मर थप्ने योजना साथ काम भैरहेको छ’, गत साल ४० मेगावाट माग रहेको नेपालगन्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा यो बर्ष ५० मेगावाट माग हुनसक्ने पूर्व अनुमानका साथ क्षमता बिस्तार सँगै अन्य व्यवस्थापन भैरहेको जानकारी दिंदै लामिछानेले भने । उनका अनुसार, करिब ८० हजार उपभोक्तालाई सहज विद्युत आपूर्ति व्यवस्थापन चुनौति प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रमा छ । ‘गर्मीको समयमा आफ्नो घरमा वायरिङ्ग क्षमता, मिटर क्षमता हेरेर मात्रै उपकरण जडान गर्नुहोला’, जोखिम न्यूनीकरणका लागि उपभोक्तालाई सन्देश दिंदै लामिछानेले भने । उनका अनुसार, क्षमताका आधारमा उपकरण चलाउन उपभोक्ता सचेत नहुँदा आगलागीका जोखिमहरुको पुनरावृत्ति भैरहेको छ ।