जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा क्षमता भन्दा बढी थुनुवा राख्दा दुरावस्था भएको भन्दै नयाँ निर्माण पहल थालिएको छ । अधिकारकर्मीहरूले त्यसबारे पटकपटक ध्यानाकर्षण गराउँदै आएपनि उस्तै रहेको हिरासत कक्षलाई तत्काल व्यवस्थित गर्न पहल थालिएको हो ।
‘प्रदेश सरकारबाट आवश्यक बजेट व्यवस्थापन गरिदिन सामाजिक विकास मन्त्री रत्न खत्रीले प्रतिबद्धता व्यक्त गर्नु भएको छ’, समस्या देखाएर मात्रै समाधानका लागि पनि अग्रसरता आवश्यक भएकाले त्यसतर्फ पहल लिइएको जानकारी दिंदै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले भने ।
बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहँदा प्रहरी उपरीक्षक कार्कीलाई मल्हम पट्टी मर्निङवाक गु्रपका तर्फबाट आयोजित स्वागत कार्यक्रममा अधिकारकर्मी भोला महत, वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ लगायतले हिरासत कक्षको दुरावस्था औंल्याउँदै व्यवस्थापनका लागि सुझाव दिएका थिए । सोही कार्यक्रममा उपस्थित खत्रीले आवश्यक बजेटका लागि पहल लिने प्रतिबद्धता जनाएपछि प्रहरी प्रमुख कार्कीले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन् । ‘व्यवस्थित थुनुवा कक्षका लागि प्रक्रिया थालिएको छ’, उनले भने ।