प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
जानकी गाउँपालिका वडा नं. ६ मा लागुऔषध कारोबार भैरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई देखेपछि स्कुटरमा भागेका सुशिल परियारलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । परियारलाई तिघ्रामा गोली लागेको प्रहरीले जानकारी दिएको छ । उनको भेरी अस्पतालमा उपचार भैरहेको छ ।
प्रहरीले परियारसँगै रहेका अर्का व्यक्ति शरण बहादुर कार्कीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ११४.२६ ग्राम लागुऔषध बरामद भएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।
प्रहरीले त्यसक्रममा भे ६ प ६२०६ र भे ५ प३१३५ नम्बरको दुई वटा स्कुटर पनि नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धान र कारवाही अगाडि बढाएको जानकारी दिएको छ ।
परियार र कार्की दुवै कोहलपुर १२ का हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरोले उक्त कारवाही गरेको हो ।