डिभिजन वन कार्यालय बाँकेले चालु आ.व.मा सात लाख बढी बिरुवा उत्पादन गरी वितरणको लक्ष्य लिएको छ । बिरुवाको माग बढ्दै गएपछि अघिल्लो बर्ष भन्दा बढी बिरुवाको उत्पादन गर्न लागिएको सिनियर डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताले जानकारी दिएका छन् ।
‘बिरुवाको माग बढेको छ’, सिनियर डिभिजन वन अधिकृत गुप्ताले भने, ‘त्यसैले उत्पादन वृद्धि गरेका हौं ।’ उनका अनुसार एकबर्षीय ४ लाख र बहुबर्षीय ३ लाख ३७ हजार ५ सय गरी ७ लाख ३७ हजार ५ सय बिरुवा डिभिजन वन अन्तर्गतका विभिन्न नर्सरीमा उत्पादन भैरहेको हो । त्यसका लागि बाँकेमा रहेका वन डिभिजनमा स्थापित नर्सरी र ढकेरी, कोहलपुर रहेका नर्सरीमा बिरुवा उत्पादन भैरहेको हो ।
डिभिजन वन कार्यालय, बाँकेले बहुमूल्य श्रीखण्ड प्रजातीको बिरुवा समेत बाँड्ने भएको छ । त्यसका लागि ढकेरी वन नर्सरीमा १७ हजार ५ सय श्रीखण्ड प्रजातिको बिरुवा तयार गरिरहेको सिनियर डिभिजन वन अधिकृत गुप्ताले बताएका छन् । एक किलोको तीन हजार बढी मूल्य पर्ने श्रीखण्डको बिरुवा निशुल्क बाँड्ने तयारी गरिएको हो ।
बहुमूल्य यो बिरुवा राष्ट्रिय वनमा लगाउन सम्भव देखिदैन । सामुदायिक वन, निजी वनमा लगाउँदा स्याहार पुर्याउन सकिन्छ । २० वर्षमा यसले राम्रो आम्दानी दिने सम्बद्ध बताउँछन् ।
डिभिजन वन कार्यालयका अनुसार, विभिन्न व्यक्ति, संघ, संस्था, किसान र निजी क्षेत्रबाट बिरुवाको माग हुँदा उपलब्ध गराइँदै आएको छ । बिरुवाको माग बढेसँगै उत्पादन पनि बढाउँदै लगेको वन अधिकारी बताउँछन् ।