नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले मिडिया कमजोर भए प्रजातन्त्र नै खतरामा पर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले राखेको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दे केन्द्रीय महासचिव दाहालले भने, ‘मिडिया भनेको गलत कामलाई रोक्ने र त्यसलाई खबरदारी गर्ने हो, यदी मिडिया नै कमजोर भए भने देशमा अराजक बढ्छ, नेपाली जनताले प्राप्त गरेका अधिकार समेत कुण्ठित बन्दै प्रजातन्त्र नै कमजोर बन्न जानेछ ।’
पत्रकार महासंघको सांगठनिक विषयका बारेमा स्पष्ट पार्दै केन्द्रीय महासचिव दाहालले भने, ‘देशभरी नै सदस्यताको विषयमा चिन्ता भएको छ, गलत भएको छ भने त्यसलाई सच्याउने र राम्रो भएको छ भने नियमित गर्ने हो, सदस्यता पारदर्शिताबाट हुनु पर्दछ भन्ने छ, सदस्यता टुङ्गो लगाउने जिम्मा विधान बमोजिम जिल्ला शाखालाई हुनेछ ।’
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले सदस्यता विवादको विषयमा गतवर्षको महासंघको कार्यसमितिले सिफारिस गरेर पठाएका नामहरू समेत सदस्यता नामवालीमा समावेश नगरी दिएको बताए ।
नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरीले जिल्लामा रहेका स्थानीय तहमा सञ्चारनीति निर्माणका लागि अनुरोध गरेको बताउँदै भने, ‘अधिकांश स्थानीय तहमा सञ्चारनीति नबनेको अवस्था थियो, हाम्रो पहलमा केही स्थानीय तहमा सञ्चारनीति बन्दै गरेको अवस्था रहेका छ भने केहीले बनाउने तरखरमा भएको जानकारीमा छ, त्यसका लागि महासंघले समन्वय गर्न तयार रहेका बताएको छु ।’
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले सदस्यता शुद्धिकरणको विषयलाई महासंघ भन्दा पनि पत्रकारका विभिन्न संगठनहरूबाटै पहल गर्दा अझै प्रभाकारी हुने बताए ।
प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीले महासंघका सदस्य शुद्धिकरणको विषयमा बोल्दै भने, ‘हामीले पत्रकारीतालाई अझै मजबुत र गरिमय बनाउनका निम्ति शुद्धिकरणको अभियाना थालनी गर्यौं तर त्यसबाट महासंघलाई कस्ता प्रकारका लाभ भए भन्ने विषयमा अझै स्पष्ट हुन सकिएको छैन, त्यस बारेमा महासंघ समेत स्पष्ट हुने र अरूलाई पनि स्पष्ट पार्न जरुरी रहेको छ ।’
अध्यक्ष डाँगीले आफु महासंघको सचिव हुँदै गर्दा कतिपय सदस्यहरूको नाम सिफारिस हुँदा समेत महासंघको नामावलीमा समावेश नहुनु र तर अन्य जिल्लाबाट सदस्यताको सिफारिस लिने, निर्वाचनको समयमा जिल्ला परिर्वतन गर्ने प्रणालीको विकास हुनु राम्रो नभएको बताए ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, रुद्र सुवेदी, नेपाल पत्रकार महासंघ संयोजक गिरीराज अधिकारी, अकोरा नेपालका केन्द्रीय सदस्य मो.आरीफ अन्सारी,
नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष अर्जुन वली, अवधी पत्रकार संघ नेपालका अध्यक्ष राकेश मिश्रा, अनलाइन पत्रकार संघका अध्यक्ष कमल न्यौपाने लगायत पछिल्लो पत्रकारीकताको अवस्थाका बारेमा आफ्नो धारणा राखेको थिए । कार्यक्रमको सहजीकरण महासंघ बाँके शाखा सचिव कृष्ण वलीले गरेका थिए ।