नेपालगन्जमा आयोजना हुने ‘रोजगार मेला’मा तीसबढी रोजगारदाताका स्टल राखिने भएको छ । ‘रोजगारीका लागि पुल’ का रूपमा विकास गर्न खोजिएको रोजगार मेलाका लागि रोजगारी दिन सक्ने तीसबढी कम्पनी तथा व्यवसायिक संस्था स्टलका लागि योग्य रहने आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
यसै चैत्र १५ र १६ गते रोजगार मेला गरिंदैछ । संघका महासचिव भिम रानाभाटका अनुसार, पहिलो दिन, चैत्र १५ गते शुक्रवार मेला उद्घाटन समारोहसँगै ‘रोजगार संवाद’ गरिंदैछ । त्यससँगै रोजगारदाताले राखेका स्टलहरूमा रोजगारीको अवसरका लागि छलफल, परामर्शको निःशुल्क व्यवस्था गरिएको, मेला संयोजक रानाभाटले जानकारी दिए । ‘मेलामै १०÷१० जनालाई रोजगारी दिनसक्ने कम्पनीहरूले स्टलका लागि प्रतिबद्धता जनाउनुभएको छ,’ रानाभाटले दैनिक नेपालगन्जसँग भने ।
मेलाका दोस्रो दिन शनिवार पनि स्टलहरूमा दुई पक्षबीचको छलफल, परामर्शदेखि सेवाशर्तलगायतको टुंगोबाट नियुक्तीसम्मका समझदारी गर्न सकिने बताइएको छ । ‘दुबै दिन रोजगारदातासँग समूहगत छलफल पनि गरिंदैछ,’ रानाभाटले भने । स्टल राख्नेदेखि कुनैपनि कार्यक्रममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने मेला आयोजक समितिले जनाएको छ ।
बाँके स्थित स्थानीय तहहरूसँगको साझेदारीमा आयोजना भइरहेको रोजगार मेलालाई सफल बनाउन जिल्लाका सात पालिकाका रोजगार संयोजक पनि सक्रिय भएका छन् । पालिका तहमै पुगेर प्रचार प्रसारदेखि सहभागिताका लागि उत्प्रेरित गर्ने काम भइरहेको मेला संयोजक रानाभाटले बताए ।