काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलो ९ सय ७० ग्राम सहित भारतीय नागरिक २७ वर्षीय Vishak Vijayan सोमबार राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरी- धरान उपमहानगरपालिका-१३ र १६ को सिमानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५ ट्याब्लेट र स्पास्पेन २ सय ५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१९ बस्ने ३३ वर्षीय सुमन राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर- हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमफेदी गाउँपालिका-९ कुरले बस्ने २४ वर्षीय कमल प्रजा र कैलाश गाउँपालिका-१० बेतिघारी बस्ने २९ वर्षीया सुमित्रा प्रजा रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख १५८७ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार कमललाई ६ किलोग्राम र सुमित्रालाई ६ किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर- बेलौरी नगरपालिका-३ बुटाबारीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १६ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ३९ वर्षीय कुलदिप सिंह र ६० वर्षीय बेचनलाल पाशमान रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी २६ एडब्लु ३१८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी- बर्दिबास नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित बर्दिबास नगरपालिका-११ खयरमारा घर भई सोही नगरपालिका-१४ डेरा गरी बस्ने २६ वर्षीय कुबेर जंग रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
लमजुङ- बेसीशहर नगरपालिका-३ रानिकुवा बस्ने २२ वर्षीय अर्जुन सेन्चुरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३७ ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-१ सानो डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ३३ ट्याब्लेट सहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।