फत्तेबाल आँखा अस्पताल सेवा थप्दै लैजाने नेत्र ज्योति संघ बाँके शाखाका सभापति रतन कुमार टण्डनले बताएका छन् । शनिबार नेपाल नेत्र ज्योति संघ बाँके शाखा, फत्तेबाल आँखा अस्पतालको ३०औं जिल्लासभामा सभापति टण्डनले अस्पतालमा सेवा थप्नका लागि प्रयासरत् रहेको बताए । ‘सेवा बिस्तारका लागि पहल भैरहेको छ’, उनले भने । सभापति टण्डनले संघको कार्यसमिति, अस्पतालका कर्मचारी, स्वयंसेवीको प्रयासले अस्पताल आजको दिनसम्म आइपुग्न सफल भएको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, नेपाल नेत्र ज्योति संघ केन्द्रीय महासचिव भरत बहादुर चन्दले अस्पतालले आँखा उपचारमा पुर्याएको योगदानको सराहना गरे । उनले फत्तेबाल आँखा अस्पतालमा सेवा बिस्तारका लागि आवश्यक पूर्वाधारका लागि ‘डोनर’सँग कुरा भैरहेको बताए । ‘आगामी बर्षसम्म तपाईहरूले सेवा बिस्तार भएको देख्न पाउनुहुनेछ’, उनले भने ।
महासचिव चन्दले सरकारले आँखा उपचारमा ध्यान पुर्याउन नसकेका बेला नेत्र ज्योति संघले नागरिकलाई उपचार सेवा दिइरहेको बताए । ‘कुनै बेला आँखाको अपरेशन गर्नुपर्ने दुई बर्ष कुर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘अहिले नेत्र ज्योति संघ मार्फतका अस्पतालका कारण त्यो अवस्था अन्त्य भएको छ ।’
महासचिव चन्दले नेत्र ज्योति संघ मार्फतका अस्पतालमा भारतबाट मात्रै नभई अन्य देशबाट समेत उपचारका लागि मानिसहरू आउन लागेको तथ्यांकले देखाएको बताए । पछिल्लो समय मात्रै ४ हजार बंगलादेशी नागरिकले आँखा उपचार सेवा अस्पतालबाट लिएको उनले बताए । महासचिव चन्दले आँखा उपचार अन्य देशमा पनि बिस्तार गर्नका लागि सरकारसँग पहल गरिरहेको जानकारी दिए । ‘लाखौं नेपालीहरू विभिन्न देशमा हुनुहुन्छ, त्यहाँ उहाँहरूलाई आँखाको उपचार निकै महंगो पर्छ, त्यसैले हामीले स्थानीय अस्पतालसँग समन्वय गरेर यहीबाट जनशक्ति पठाएर उपचार व्यवस्था मिलाउन पहल गरिरहेका छौं’, उनले सरकारसँग गरेको प्रस्तावबारे जानकारी दिंदै भने ।
अस्पतालका लेखा अधिकृत जित बहादुर थारुले सञ्चालन गरेको अधिवेशनको उद्घाटन सत्रमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव शान्ति श्रेष्ठले २०४२ सालमा स्थापना भएको अस्पतालले आ.व. २०७९÷८० सम्म २६ लाख ५८ हजार ४ सय ९४ जनाको आँखा उपचार गरेको तथ्यांक प्रस्तुत गरिन् । उक्त अवधीमा २ लाख ७३ हजार १ सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले अस्पतालका भौतिक पूर्वाधारलाई समयानुकुल परिवर्तन गर्दै लैजानु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका पदाधिकारी, सदस्य, अस्पतालका प्रबन्ध निर्देशक डा कौशलकुमार बर्मा लगायतको सहभागिता रहेको थियो ।