यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशनको तयारीका क्रममा प्रचारप्रसारका लागि बाँकेका विभिन्न स्थानीय तहका गाउँमा समेत आयोजना बारे स्थानीयबासीलाई अवगत गराउन थालिएको छ ।
त्यसक्रममा बुधबार बाँकेको कोहलपुर वडा नं. ४ स्थित बेलनपुरमा स्थानीयबासीसँगको छलफलमा महाधिवेशनमा सहभागिताका लागि आव्हान गरिएको थियो । इत्तेहादले बाँकेका आठवटै स्थानीय तहका विभिन्न ठाउँमा प्रचार अभियान गर्दै गाउँगाउँबाट सहभागिताको आव्हान गरिरहेको छ ।
बुधबार कोहलपुरमा नेपाल मुस्लिम इत्तेहाद संगठन कोहलपुरका अध्यक्ष मो. अलि नाउँको अध्यक्षतामा भएको भेलामा बोल्दै मौलाना मुफ्ती जुनेद खानले मौलाना, मुफ्ती, हाफिज, कारी, आलिम अध्ययन गरेकाहरूलाई समानान्तर तह अनुसार मान्यता दिनुपर्ने विषय महाधिवेशनमा उठाइनु पर्ने बताएका थिए ।
नेकपा एमाले कोहलपुरका अध्यक्ष कुल बहादुर भट्टराईले महाधिवेशन सफल बनाउने जिम्मेवारी नेकपा एमालेको मात्रै नभई बाँकेबासीको भएको बताएका थिए । प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य मो. हारुन हवलाईले महाधिवेशनमा समुदायका सवालहरू स्थानीय स्तरदेखि केन्द्रसम्म पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
महाधिवेशन आयोजक समिति संयोजक अब्दु्ल करिम खानले हालसम्मको गतिविधिमा सबैतिरबाट सहयोग भैरहेको भन्दै महाधिवेशनमा त्यसैखालको सहभागिता रहने विश्वास व्यक्त गरे ।
इत्तेहाद बाँकेका इन्चार्ज सफि गुज्जरले सञ्चालन गरेको कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय खलिल मियाँ, कोहलपुर पालिका इन्चार्ज गुड्डु बेडवा, नुरी जामा मस्जिदका सञ्चालक अब्दुल मुस्तफा खान, एमाले स्थानीय नेता लाल प्रसाद पंगेनी लगायतको उपस्थिति रहेको थियो ।