आगामी २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेदहाद संगठनको ७औं महाधिवेशनका लोगो शनिबार औपचारिक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक अब्दुल करिम खाँको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मो. हारुन हलवाईले मुस्लिमहरूको उल्लेख्य बसोबास रहेको क्षेत्रबाट महाधिवेशनले एकता र गणतन्त्रका पक्षमा देशभर सन्देश प्रवाह गर्ने बताएका थिए ।
संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मो. हारुनले महाधिवेशन तयारीका लागि जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेताहरू, विभिन्न समुदायका व्यक्तिहरूसँग छलफल र सुझाव लिने क्रम जारी रहेको बताएका छन् ।
‘इत्तेहादको महाधिवेशन बाँकेमा हुनु एउटा अवसर हो’, मो. हारुनले भने, ‘यसलाई सबै बाँकेबासीले सफल बताउनु पर्छ । उनले त्यसका लागि ८१ वटै वडामा महाधिवेशनको प्रचारप्रसार गरिने जानकारी दिंदै महाधिवेशनका दिन हजारौंको सहभागितामा र्याली समेत आयोजना गरिने बताएका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरू सुर्य ढकाल, दिपा शर्मा, पशुपति दयाल मिश्र लगायतले पार्टी केन्द्रीय अध्यक्ष समेत रहेका प्रधानमन्त्री कपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको तयारीका लागि पार्टी समेत जुटेको बताएका थिए । केन्द्रीय सदस्य सुर्य ढकालले बाँकेमा महाधिवेशन हुनु केन्द्रीय नेतृत्व स्थापित गर्ने अवसर पनि बताएका छन् ।
‘बाँकेको नेतृत्व केन्द्रीय तहमा स्थापित गर्ने महाधिवेशन सफल बनाउने जिम्मेवारी हामी बाँकेबासीको हो’, संघीय सांसद समेत रहेका ढकालले भने ।
आयोजक प्रवक्ता सकिल कादरीले सञ्चालन गरेको कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकी, संगठनका नेताहरू जमुल मियाँ, हलिम शाह, जाकिर हुसेन, जमिल हलवाई लगायतको उपस्थिति रहेको थियो ।
महाधिवेशन तयारी अन्तर्गत आज आइतबार भेला समेत राखिएको नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका संगठनका वरिष्ठ उपाध्यक्ष नेता मो। हारुनले जानकारी दिएका छन् ।
