यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशनमा युवा परिचालन गरिने भएको छ । शुक्रबार महाधिवेशनको तयारी बारे आयोजना भएको छलफलमा राष्ट्रिय युवा संघ नेपाल, नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष धिरु थापा मगर, इत्तेहाद महाधिवेशन युवा परिचालन संयोजक मुस्ताक अन्सारीले महाधिवेशनमा युवाको उल्लेख्य सहभागिता रहने आवश्यकता अनुसार सहजीकरणका लागि युवा परिचालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका बाँके अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मो. हारुनले बाँकेमा महाधिवेशन हुनुलाई अवसरका रूपमा बाँकेका एजेण्डा स्थापित गर्न सबैले जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा इत्तेहादका केन्द्रीय कोषाध्यक्ष अब्दुल करिम खानले महाधिवेशन सफल पार्न आव्हान गरिेका थिए ।
नेकपा एमाले नगर सचिव रवि बर्माले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य उषा थापा, एमाले सम्बद्ध युवाहरू लगायतको सहभागिता रहेको थियो ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले बाँकेमा सातौं महाधिवेशन आयोजनाका क्रममा विभिन्न क्षेत्र सम्बद्धहरू सँग निरन्तर बहस र अन्तरक्रिया गरिरहेको छ । विगतमा भएका छलफलका क्रममा महाधिवेशनमा बाँकेका मौलाना मुस्लिम खान बरकातीले मुफ्ती, हाफिज, कारी, आलिम अध्ययन गरेकाहरूलाई समानान्तर तहअनुसार मान्यता दिनुपर्ने विषय महाधिवेशनमा उठान गर्न सुझाव दिएका थिए । “भारतमा अध्ययन गरेपछि त्यहाँको सरकारले मान्यता दिएर माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था गरेको छ, रोजगारीसमेत पाउने गरेका छन्”, उनले भने, ‘हाम्रो यहाँ न त रोजगारीको व्यवस्था छ न माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था छ यस विषयलाई चासो दिन जरुरी छ ।’
शिक्षा र स्वास्थ्यका सवालमा मुस्लिम समुदायको अवस्था कमजोर रहेकाले महाधिवेशनले विषय उठान गर्नुपर्नेमा मुस्लिम अगुवाहरूले जोड दिँदै आएको नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका इञ्चार्ज मोहम्मद हारुन हलवाईले बताउँछन् । ‘इत्तेहादको महाधिवेशन भए पनि यसलाई बाँकेको विकास निर्माण तथा पछाडि परेका वर्गको चासो, चिन्ता अधिकार, मागका विषयमा समेत प्रधानमन्त्रीज्यूसमक्ष राख्ने अवसर पनि हो”, हलवाईले भने, ‘प्रधानमन्त्री आउने कार्यक्रम भएकाले इत्तेहादको महाधिवेशनलाई मुस्लिम समुदायका सवाल उठान गर्ने अवसरका रूपमा पनि लिइएको छ ।’
मुस्लिम समुदायका अगुवाहरूले महाधिवेशनलाई सफल बनाउने प्रतिबद्धता जनाउँदै मुस्लिम विद्यार्थीका लागि छुट्टै विश्वविद्यालयका लागि पहल गर्नुपर्ने, स्वास्थ्य संस्थामा विशेष छुटको व्यवस्था हुनुपर्नेलगायत सवाल उठाएको उहाँको भनाइ छ । ‘हामीले प्रधानमन्त्रीज्यूलाई जिल्लाका विभिन्न क्षेत्रबाट मागका बारेमा ज्ञापनपत्र बुझाउने र प्रधानमन्त्रीज्यूले महाधिवेशन उद्घाटनका क्रममा त्यसलाई सम्बोधन गर्नुहुने विश्वास छ’, उनले भने, ‘यो महाधिवेशन मुस्लिम समुदायका सवाललाई उठान गर्ने फोरमका साथै बाँके जिल्लालाई देशभर चिनाउने अवसर पनि हो ।’
महाधिवेशनमा देशभरबाट आउने करिब छ सय प्रतिनिधिको सहभागिता रहने महाधिवेशन आयोजक समितिका संयोजक अब्दुलकरिम खानले बताए । उनले महाधिवेशन बाँकेले आफ्नो ‘एजेन्डा’ केन्द्रसम्म पुर्याउने अवसर भएको उल्लेख गरे । “जिल्लाबाट हामीले हाम्रा चासोका विषय विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायत अधिकारका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने छौँ”, उनले भने, “इत्तेहादको महाधिवेशन बाँकेमा हुनु एउटा अवसर हो, यसलाई सबै बाँकेवासीले सफल बनाउनु पर्छ ।” महाधिवेशनको सफलताको लागि बाँके र बर्दियाका स्थानीय तहसम्म प्रचारप्रसार गरिएको महाधिवेशन तयारी समितिका संयोजक खानले बताए ।