इन्धन ढुवानीमा टेम्पेचर लसको समस्या

इन्धन ढुवानीमा लसको यथोचित मूल्यांकन आवश्यक रहेको शनिबार नेपालगन्जमा आयोजित मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघ बाँकेको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनका वक्ताहरूले बताएका छन् ।

संघका अध्यक्ष अमरजित सिंहको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले ढुवानीमा हुने ‘टेम्पेचर लस’को यथोचित मूल्यांकन नहुँदा चालकहरूलाई ढुवानीमा समस्या भएको बताएका थिए ।
संघका सचिव श्याम कुमार थापाले नेपाल आयल निगमदेखि दाङ्गसम्म ढुवानी गर्दा दाङ्गमा २ डिग्री टेम्पेचर मात्र दिंदा र गोण्डा र दाङ्गको टेम्पेचरमा फरक भएका कारण उक्त डबल लस भएको बताए । उनले लसका सम्बन्धमा व्यवस्थापन हुन नसके चालकहरूले ढुवानी गर्न नसक्ने बताउँदै आएकाले भविष्यमा ढु्वानी समस्या हुनसक्ने कार्यक्रममा सहभागी निगम प्रतिनिधिहरूलाई अवगत गराए ।

सचिव थापाले ढुवानी व्यवसायीको आम्दानी घट्दै गएकाले यथोचित सम्बोधन आवश्यक रहेको बताएका थिए । उनले पहिले निजी ढुवानी ट्यांकर थपिंदा आम्दानी घट्न गएको उल्लेख गर्दै निजी ढुवानी १२ केएल हुनुपर्ने व्यवस्था भएपनि २० केलको गाडीका लागि इजाजत दिएको भन्दै त्यसलाई अन्त्य गर्न माग गरे ।

जगत थापाले ट्यांकरका सहचालकले न्यूनतम पारिश्रमिक समेत नपाएको उल्लेख गर्दै टेम्पेचर फरक सम्बन्धित निकायले सम्बोधन गर्नुपर्ने बताए ।

डिलर्स एशोसिएसनका उपाध्यक्ष अजय टण्डनले ट्यांकरहरूले हाल महिनामा तीन ट्रिप पनि गर्न गाह्रो भैरहेको र त्यसले कर्मचारी खर्च निकाल्न समेत समस्या भएको बताए ।
नेपाल आयल निगम सुर्खेतका प्रमुख विवश विष्टले सबै पक्षले देखिएका समस्या हल गर्न नयाँ ढंगले अगाडि बढ्नु पर्ने धारणा राखे ।

निगमको इन्धन डिपो नेपालगन्जका प्रमुख दुर्गा पछाईले समस्या समाधानका छलफल गरी निकास दिन आफु प्रतिबद्ध रहेको बताइन् । उनले लसको सम्बन्धमा निगमले गर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै डिपो भित्रैबाट तेल नापेर लग्न सम्बन्धित प्रतिनिधिहरूको टोली समेत रहेको बताइन् ।

संघका कानुनी सल्लाहकार विकास आचार्यले ट्याकर चालकको गल्ती नहुँदा पनि दुर्घटना हुँदा थुनिनु पर्ने अवस्थाको अन्त्यका लागि केन्द्रबाट पहल गर्न सुझाव दिए । उनले सडकमा चलिरहेको ट्याक्टर तथा रोकिएको ट्यांकरमा हुने दुर्घटनाको कानुन प्रक्रिया फरक हुनुपर्ने धारणा राखे ।

संघका केन्द्रीय अध्यक्ष मनोज कुमार दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खगेश्वर बोहरा, सरोज पाण्डे, तिर्थराज चटोत लगायतले बोलेका थिए ।

वक्ताहरूले इन्धनको खपतले देशको विकासलाई पनि देखाउने भन्दै हाल इन्धनको खपत घट्दै गएको बताए । उनीहरूले इन्धन खपत गर्ने जनशक्ति विदेशिएको र देशमा भैरहेका विकास निर्माणका काम समेत सुस्त हुँदा इन्धन खपतमा कमी आएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

Exit mobile version