गत चैत्र २७ गते राती र २८ गते विहान भएको हावाहुरी सहितको बर्षाले बाँकेका इट्टा व्यवसायीले ठूलो नोक्सानी बेहोरेका छन् । इट्टा व्यवसायी संघ बाँकेका कार्यालय प्रमुख सुर्य पौडेलका अनुसार, बाँकेका ईट्टा व्यवसायीको करिब १ करोड ५ लाख काँचो इट्टामा क्षति पुगेको छ ।
जिल्लामा सक्रिय ५० बढी इट्टा उद्योगीले तयार गरेको काँचो इट्टा बर्षातले बिगारेको पौडेल बताउँछन् । ‘त्यसबाट ५ करोड बढीको क्षति इट्टा व्यवसायीलाई भएको छ’, कार्यालय प्रमुख पौडेल भन्छन्, ‘प्रत्येक बर्ष यसखालका क्षति व्यवसायीले बेहोर्दै आएका छन् ।’
बाँकेमा सुकाउन राखिएका काँचो इट्टा र स्टोर गरिएका काँचो इट्टामा बर्षाको पानीले क्षति पु्र्याएको हो । ‘खुला आकाशमूनि काम गर्नुपर्ने भएकाले यसखालको ठूलो नोक्सानी व्यहोर्नुपरिरहेको हो’, ईट्टा व्यवसायी भन्छन् । ईट्टा व्यवसायीहरूले विगतदेखि उठाउँदै आएको बीमाको विषय सम्बोधन हुन नसक्दा ईट्टा व्यवसायको लगानी असुरक्षित भएको व्यवसायी बताउँछन् । ‘व्यवसायीलाई नोक्सान हुन्छ नै, सिजनमा यसखालको नोक्सानीले उत्पादनमा समेत कमी ल्याउँछ’, बाँकेका ईट्टा व्यवसायी भन्छन् ।
‘काँचो ईट्टाका लागि बीमा गर्न व्यवसायीहरूले विभिन्न ठाउँमा पहल गरेको हो’, ग्लोबल ब्रिक इन्डष्ट्रिज का सञ्चालक एकराज पाण्डेय भन्छन्, ‘एक÷दुई वटा ईट्टा उद्योगको बीमा गरेपछि बीमा कम्पनीले रिक्स देखेपछि पछि हटे, अहिले काँचो ईट्टाको बीमा गर्न मान्दैनन् ।’ उनले बीमाका लागि सरकारी निकायहरू विगतमा गरेको पहल र प्रयासको सम्बोधन नभएको बताए । पाण्डेयले आफ्नो उद्योगमात्रै २ लाख ईट्टा नोक्सान भएको जानकारी दिए ।
ईट्टा उद्योगमा अधिकांस श्रमिक भारतबाट अग्रिम भुक्तानी समेत गरेर ल्याइने गरेको नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर वली बताउँछन् । ‘नेपालमा श्रमिक नपाउँदा भारतबाट बस्ने व्यवस्था गरेर भुक्तानी समेत गरी श्रमिक ल्याउनु पर्ने अवस्था छ’, उनले नेपालगन्ज उद्योग वाणिज्यले हालै आयोजना गरेको रोजगार मेलामा ईट्टा व्यवसायमा श्रमिकको समस्याबारे जानकारी दिंदै भनेका थिए ।
बाँकेमा कार्तिकपछि जेठ १५ सम्म ईट्टा उत्पादनको कार्य हुने र त्यसपछि बर्षभरी बिक्री हुने गरेको छ । बेमौसमी बर्षा र ठूलो झरीले काँचो ईट्टामा नोक्सान पुर्याउँदा उत्पादनमा कमी आउने, लागत समेत बढ्ने गरेको इट्टा व्यवसायी पाण्डे बताउँछन् ।
काँचो ईट्टामा नोक्सान हुँदा त्यहाँसम्म लगानी भएको माटो र श्रमिकको ज्याला खर्च त हुन्छ नै पुनः तयार गर्न लक्ष्य अनुसार सिजन भित्र सम्भव नहुने इट्टा व्यवसायी बताउँछन् ।