नेपालगन्ज उपमहानगरपालिकाले चालु शैक्षिक सत्रका लागि संस्थागत तथा निजी विद्यालयहरूले लिन पाउने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाले नयाँ भर्ना बाहेक कक्षा वृद्धि भएकाको भर्ना शुल्क लिन पाउने निर्णय गरेको हो । उपमहानगरपालिकाले विद्यालयको वर्ग अनुसार मासिक शुल्क र विद्यार्थीले प्राप्त गर्ने अन्य सुविधाको अधिकतम शुल्क निर्धारण गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले विद्यार्थीले सोही विद्यालयको माथिल्लो कक्षामा जाँदा भर्ना शुल्क लिन नपाउने, नयाँ विद्यार्थी भर्ना हुँदा मासिक १ महिना बराबरको नयाँ भर्ना शुल्क र बर्षमा एक पटक दुई महिना बराबरको मासिक शुल्क बार्षिक शुल्क रूपमा लिन पाउने निर्णय गरेको छ । बार्षिक शुल्कका रूपमा भर्ना शुल्क लिइने गरेको भन्दै अभिभावकहरूले आलोचना समेत गर्दै आएका छन् ।
संस्थागत क वर्गको विद्यालयले आधारभूत तहमा ४ हजार ५ सय र माध्यमिक तहमा ५ हजार ५ सय, ख वर्गको विद्यालयले आधारतभूत तहमा ३ हजार ७ सय ५० र माध्यमिक तहमा ४ हजार ६ सय, ग वर्गको विद्यालयले आधारभूत तहमा ३ हजार र माध्यमिक तहमा ३ हजार ७ सय मासिक शुल्क लिन पाउने नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा महाशाखाले निर्णय गरेको हो ।
संस्थागत विद्यालयले टाइ, बेल्टको शुल्क लिन नपाउने र अन्य सेवाप्रदायकबाट व्यवस्था गर्नुपर्ने, परिचयपत्र वापत २ सय ५० रूपैयाँ लिन पाउने, खेलकुदमा अभिभावकको सल्लाहमा शुल्क लिन पाउने, एसी जडान भएकोमा ३ सय शुल्क लिन पाउने, विद्यार्थीले कम्युटर प्रयोग गरेको खण्डमा ८ सय लिन पाउने निर्णय महाशाखाले गरेको हो ।
त्यस्तै, संस्थागत विद्यालयले धरौटीको नाममा कुनै शुल्क लिन नपाउने र तोकिए भन्दा बढी शुल्क लिए ५० हजार जरिवाना गरिने महाशाखा प्रमुख , उपसचिव गोर्ख बहादुर थापाले बताएका छन् । महाशाखाले बैशाख मसान्त सम्म संस्थागत विद्यालयले विद्यार्थीलाई उपलब्ध गराएको छात्रवृत्ति विवरण वैशाख मसान्तसम्म माग गरेको छ ।