बाँकेमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झण्डै २ हजार ५ सय कर्मचारी परिचालन हुने भएका छन् । त्यसका लागि जिल्ला निर्वाचन व्यवस्थापन समितिले आवश्यक निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत कार्यालयको नेतृत्वमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका ४ सय बढी मतदान बढी मतदान केन्द्रमा २ हजार ४ सय १५ जना कर्मचारी परिचालन हुने भएका हुन् । ‘त्यसका लागि आवश्यक निर्णय भएर कार्यान्वयन प्रक्रियामा जाँदैछ’, जिल्ला निर्वाचन व्यवस्थापन समितिका सदस्य सचिव समेत रहेका निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले दैनिक नेपालगन्जसँग भने । बाँकेमा एक सय ३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।यसैबीच, निर्वाचनका क्रममा कर्मचारी परिचालनको विषयलाई लिएर असन्तुष्टि सार्वजनिक भएको छ । जिल्ला स्थित निजामति सेवाको क्षेत्रमा क्रियाशिल राष्ट्रिय स्तरको टे«ड यूनियनहरूले शुक्रबार संयुक्त विज्ञप्ति मार्फत उक्त असन्तुष्टि सार्वजनिक गरेका हुन् । ‘सकेसम्म यी असन्तुष्टि बाहिर ल्याउन चाहँदैनथियौं’, एक जना कर्मचारी नेताले भने, ‘सुनुवाईमा पटक्कै ध्यान नगएपछि बाध्य भएर वक्तव्य जारी गर्नुपर्यो ।’ उनका अनुसार, निजामति कर्मचारीलाई बेवास्ता हुनेगरी कम्पनी र विभिन्न संस्थानका कर्मचारीहरूलाई समेत परिचालन गरेपछि असन्तुष्टि संगठित रूपमा बाहिर आएको हो । ‘विद्युत र खानेपानीका मिटर रिडरलाई निर्वाचनमा परिचालन गरिएको छ’, कर्मचारी नेताको भनाइ छ, ‘निजामति सेवाबाट भरपूर सहयोग गर्ने प्रतिबद्धता हुँदाहुँदै मनपरी ढंगले काम भएपछि असन्तुष्टि बाहिरिएको हो ।’टे«ड यूनियनहरूले संयुक्त प्रेस नोट मार्फत भनेका छन्, ‘न्याय सेवाको नायब सुब्बालाई मतदान अधिकृत बनाउँदा प्रशासन वा अन्य सेवाका अधिकृतलाई समेत सहायक कर्मचारीमा पठाइएको, टेलिकम जस्ता प्राविधिक कार्यालयका सम्पूर्ण कर्मचारीलाई एउटै मतदान केन्द्रमा पठाइएको, कुनै कर्मचारीलाई दोहोरो, तेहोरो पर्ने गरी मतदान अधिकृत र सहायक मतदान अधिकृतमा राखेर होल्ड गरिएको जस्ता थुप्रै अव्यवहारिक र अमिल्दो ढंगले कर्मचारी खटनपटन गरिएको दिएको हुँदा अविलम्व सुधार गरी न्यायोचित ढंगले कर्मचारी खटनपटन गर्नका साथै निष्पक्ष र विश्वसनीय वातावरण बनाउनका लागि गम्भीर ध्यानाकर्षण गरिएको छ ।’ नेपाल निजामति कर्मचारी संगठन बाँकेका अध्यक्ष देविलाल चौलागाई, निजामति कर्मचारी राष्ट्रिय कर्मचारी यूनियन बाँकेका अध्यक्ष नगेन्द्र बहादुर शाही, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष हुर्मत विक र एकीकृत सरकारी कर्मचारी संगठन बाँके तर्फबाट कोषाध्यक्ष पुष्पराज मिश्रले जारी रहेको संयुक्त प्रेस नोटमा यसखालका क्रियाकलापले समग्र राष्ट्रसेवक कर्मचारीहरूको मनोबल घट्ने र निरुत्साहित बनाउने टिप्पणी गरिएको छ ।
कर्मचारी खटनपटनमा असन्तुष्टि
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयास
by
Dainik Nepalgunj
May 23, 2026
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
by
Dainik Nepalgunj
May 22, 2026
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
by
Dainik Nepalgunj
May 22, 2026
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
by
Dainik Nepalgunj
May 22, 2026
रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन
by
Dainik Nepalgunj
May 22, 2026