सन्ध्या गैरे
पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल निकै रोमाञ्चक हुने भएको छ । उपाधिको लागि विभागीय टोली एपीएफ अर्काे विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । उपाधिका लागि भोली शुक्रवार फाइनल खेल हुनेछ ।
नेपालगन्ज रंगशालामा बुधवार भएको दोस्रो सेमिफाइनलमा एपीएफले रौतहटलाई ३–० ले हराउँदै उपाधिका लागि दावेदार बनेको हो । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको थियोे ।
पहिलो हाफ बराबरीमा रोकिएको एपीएफलाई जिताउन अनिता केसी, निशा थोकर र सविता रानामगरले समान एक गोल गरिन् । एपीएफकी अनिता केसी खेलको प्लेयर अफ दि म्याच घोषित भएर नगद पाँच हजार प्राप्त गरिन् ।
एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको हो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो ।
राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपीएफले महिला लिगको उपाधि पनि जितेको थियो । तर, नेपालगन्ज रंगशालामा बुधवारको खेल रौतहटविरुद्ध सजिलो चाहिं भएन । गोलकिपर उषा थापासँगै युवा खेलाडीहरु सेनु परियार, सिमरन राई, सविता चौधरी, जेनिफर राना, पियाली राओले सानदार प्रदर्शन गरेपछि एपीएफ निकै दबाबमा परेको थियो ।
७३ औं मिनेटमा अनिता केसीले एपीएफलाई अग्रता दिलाइन । वैकल्पिक खेलाडी रेनुका हमालले मिलाएको बललाई अनिताले सहज गोल गरेकी थिइन् । ८० औं मिनेटमा निशाले हेडर गोल गरिन् । अनिता बस्नेतले कर्नरमा मिलाएको बललाई अनमार्क रहेकी निशाले सहजै गोल गरेकी थिइन् ।
९० औं मिनेटमा सविताले तेस्रो गोल गरिन् । सरु लिम्बूले करिब ३० यार्ड टाढाबाट हानेको शक्तिशाली प्रहार गोलकिपर उषा थापाले पञ्च गरेपछि सोही रिबाउन्ड बललाई निशाले गोलमा परिणत गरिन् ।
जीत पछि एपीएफ क्लबकी प्रशिक्षक भगवती थापाले रौतटह टोलीलाई हराउन सहज नभएको प्रतिक्रिया दिइन् । ‘रौतटह समन्वय मिलेको टोली हो,’ थापाले उनीहरुले लामो समय देखि एकै टिम खेलिरहेको तथ्य खुलाउँदै भनिन्, ‘जुनियर स्तरका राष्ट्रिय टोलीबाट पनि खेलेका खेलाडी छन् ।’ बुधवार उनीहरुले राम्रो खेलेको टिप्पणी गर्दै प्रशिक्षक थापाले नेपाली राष्ट्रिय टोलीको लागि ब्याकिङ पावरको रुपमा रौतहट टिमलाई लिन सकिने बताइन् । थापाले फाइनल खेलेर जितेरै जाने उद्घोष गरिन् । विभागीय टिम बिच हुने प्रतिस्पर्धा कडा हुने आंकलन सुनाइन् ।
फाइनल खेल विभागीय टोलीबिचको प्रतिस्पर्धा हुने भएकोले त्यसलाई सहज रुपमा नलिएको एपीएफकी क्याप्टेन अनिता बस्नेतले बताइन् । बस्नेतले एक अर्काबिच स्कोरको कम्युनिकेशन नमिलेकाले थुप्रै पटक गोल गर्नबाट आफूहरु बन्चित रहेको बताइन । साथै उनले रौतहट टिमलाई खुलेर प्रशंसा समेत गरिन् ।
रौतहटका प्रशिक्षक भोजराज घिमिरेले टोलीले एपीएफसँग उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरेको बताए । ‘हामीले एपीएफसँग जुन रणनीतिका साथ खेलेको थियौं, त्यसको नजिक पनि पुग्ने प्रयास गरेको हो,’ घिमिरेले पत्रकारसँग भने, ‘तर अन्त्यतिर त्यो असफल भयो ।’ उनले आफुहरुको प्रतिस्पर्धा प्रायः विभागीय टिम संगै पर्ने भएकाले विभागीय बाहेक पनि प्रतिस्पर्धा गराउन आयोजकलाई अनुरोध गरेका छन् ।
रौतहटका क्याप्टेन सलोनी मगरले डिफेन्स र किपरको कम्युनिकेशन नमिल्दा जित हासिल गर्न नसकेको बताइन । उनले विभागीय बाहेकको टिम भएको भए सहज जित हुने दाबी समेत गरिन् । सहकप्तान सबिना चौधरीले पनि एपीएफ विरुद्धको खेलमा टिमले राम्रो नतिजा निकाल्ने प्रयास गरेको बताइन् ।
यसअघि समूह ‘बी’ मा रहेको एपीएफले कर्णाली प्रदेशलाई ६–० तथा रौतहटले आयोजक बाँके ११ लाई ३–० ले नै हराएको थियो । पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी भएका थिए । आठ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उ–पविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले फाइनल खेलमा सहभागी भएर नेपालगन्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको रोमाञ्चकता अनुभव गर्न आव्हान गरेका छन् । अन्तरालले बाँके जिल्ला फुटबल संघसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।