काँग्रेस बाँके : अनुशासन समितिका संयोजक नै पदमुक्त

नेपाली काँग्रेस बाँकेमा ‘अनुशासनको डण्डा’ चलेको छ । काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीका अनुशासन समिति संयोजक टंक प्रसाद काफ्ले (आशिष)लाई नै अनुशासनको डण्डा चलाउँदै समितिबाटै पदमुक्त गरेका हुन् ।

‘पदको गरिमा विपरित केही दिन पहिले अभद्र, अशोभनिय व्यवहार गरिएकाले जिल्ला अनुशासन समितिबाट पदमुक्त गरिएको छ’, सभापति गौडेल आफैले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन् । सभापति गौडेलले संकेत गरेको अभद्र र अशोभनिय व्यवहारबारे बुधबारको अंकमा दैनिक नेपालगन्जले समाचार प्रकाशित गरेको छ ।

काफ्लेले शुक्रबार पार्टी कार्यालयमा जिल्ला सचिव सुधांशु कोइरालामाथि दुव्र्यवहार गरेको आरोप थियो । पार्टी सभापतिकै उपस्थितिमा दुव्र्यवहार भएपछि उनीमाथि कारवाहीको दबाब बढेको हो । बुधबार काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, बाँके सभापति गौडेल, उपसभापति गोपाल अधिकारी र सचिव कोइरालाको विशेष बैठकमा प्रकाशित समाचारलाई लिएर छलफल, बहस भएको बताइएको छ ।

‘अराजकतालाई प्रश्रय दिंदा अनुशासनको मर्यादा समाप्त हुन्छ’, बैठकमा सहभागी नेताहरूले काफ्लेलाई कारवाही नगरिए अराजकता मौलाउने भन्दै पदबाट बर्खास्त गर्ने सहमति जुटेपछि पार्टी सभापति गौडेलले विज्ञप्ति मार्फत उक्त कुरा सार्वजनिक गरेको जानकारी दिंदै काँग्रेस स्रोतले भन्यो । कोइरालासँग जिल्ला अधिवेशनमा पराजित
काफ्लेलाई गौडेलले २०७८ चैत्र २२ गते विधानको परिच्छेद ९, धारा ३४, उपधारा ३ अनुसार अनुशासन समितिको संयोजक नियुक्त गरेका थिए । आफ्नै अगाडि
अनुशासन समितिका संयोजकले नै पदाधिकारीमाथि दुव्र्यवहार गरेपछि सभापति गौडेल काफ्लेलाई पदमुक्त गर्न दबाबमा परेका हुन् ।

Exit mobile version