भारतसँगको मुख्य नाका नियमन गर्दै भन्सार कडाई गर्ने बाँके प्रशासनको पहलकदमीलाई नेपालगन्ज उद्योग वाणिज्य संघले संस्थागत रूपमै समर्थन गर्ने भएको छ । त्यसका लागि आवश्यक निर्णय लिन बैठक डाकिएको जानकारी दिंदै संघका अध्यक्ष टंक बहादुर धामीले आफुहरूको माग अनुसार प्रशासनले सुनुवाई गरेकाले अभियानलाई पूर्णत सहयोग गरिने बताए ।
‘नाकामा कडाई गरिएपछि बजारमा मूल्य प्रभावित गर्ने विकृति छ, त्यसलाई निस्तेज पार्न प्रशासनले कडाईका साथ अनुगमन गर्नुपर्छ’, संघका अध्यक्ष धामीले दैनिक नेपालगन्जसँग भने, ‘अनाधिकृत मूल्य लिने कुरालाई हामी समर्थन गर्दैनौं, प्रशासनले कडा भन्दा कडा कारवाही गरोस् ।’
एक सय बढी मूल्यको मालसामान भन्सार बिन्दुबाट ल्याउँदा अनिवार्य भन्सार राजश्व तिर्नुपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न नेपालगन्ज उद्योग वाणिज्य संघ लगायतका व्यवसायिक निकायबाट माग हुँदै आएको थियो ।
‘२०८० भदौ २५ गतेदेखि नै यो विषयलाई हामीले छलफल, बहस गर्दै सरोकारवाला हरेक तह, तप्कामा ध्यानाकर्षण गराएका थियौं’, त्यसैक्रममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका धर्मराज जोशीलाई स्वागत, सम्मानका क्रममा ध्यानाकर्षण गराइएको प्रसंग स्मरण गर्दै अध्यक्ष धामीले भने, ‘हामीले नयाँ सिडियो राष्ट्रभक्त पाएकाले उहाँले त्यसको कार्यान्वयन प्रक्रियालाई एक्सनमा लैजाने भएकाले संघ पछाडि सर्ने भन्ने कुरै हुँदैन ।’
अध्यक्ष धामीले मूल्यवृद्धि नियन्त्रणका लागि चौतर्फी अनुगमन भएको आवश्यक औंल्याउँदै अनुगमन टोलीमा अबका दिनदेखि संघको प्रतिनिधित्व नहुने प्रष्ट पारे ।
‘अनुगमनमा संघको टोली बस्दा कालोबजारी गर्नेलाई सपोर्ट गर्न खोजेजस्तो विगतले देखायो’, अध्यक्ष धामीले अबका दिनमा प्रशासनले गर्ने अनुगमनलाई साथ दिने र गलत हुन नदिन आवश्यक सल्लाह सुझाव मात्र दिइने बताए ।
‘हामी नेपालगन्ज बजारको उचित व्यवस्थापनका लागि संघको तर्फबाट आवश्यक पहल र प्रयास गरिनै रहनेछौं’, स्वदेशमै किनमेलको संस्कारलाई बढावा दिने मूल्य र नाफा बीचको सन्तुलनलाई पनि व्यवस्थित गर्न व्यापारीहरूलाई संघले अनुरोध गर्ने जानकारी दिंदै अध्यक्ष धामीले भने, ‘नाफा कम खाने बरु कारोबार बढाएर अर्थतन्त्र चलायमान बनाउँदा हुने फाइदाबारे सचेतना फैलाउने काम पनि आवश्यक छ ।’ उनले कयौं किनमेलका सामानहरू सीमापारी भन्दा नेपालगन्ज बजारमै सस्तो र गुणस्तरीय रहेको कुरा उपभोक्तालाई सञ्चारमाध्यम मार्फत सचेतना आवश्यक भएको पनि औंल्याए ।
‘सस्तोका नाममा विष किनिरहेका छौं, गुणस्तरहीन खाद्य सामाग्री खरिद गरेर क्यान्सर निम्तिरहेको छ’, अध्यक्ष धामीले स्वदेश भित्रका किनमेलमा गुणस्तरको सुनिश्चिततामा राज्यले नियमन गरिरहेको औंल्याउँदै भने, ‘सीमापारीबाट आएका खाद्य सामाग्रीको न त गुणस्तर चेकजाँच छ, न कुनै नियमन नै ।’