सार्वजनिक रूपमा विवाहको उमेर घटाउने बहसले तिव्रता दिइरहँदा ब्राइटल्याण्ड कलेजका विद्यार्थी किशोरीहरूले त्यसका चौतर्फी प्रभावबारे बहस गरेका छन् । उनीहरूको आफ्नो संगठन बिएलसी मल्टिमिडिया हब मार्फत मंगलबार सरोकारवालाहरू बीच विवाहको उमेर र यसले प्रभावसँग जोडिएर ‘टक शो’ गरे ।
‘टक शोमा स्वास्थ्यदेखि सामाजिक सम्मका दृष्टिकोणहरू प्रस्तुत भए’, कार्यक्रम संयोजकका रूपमा बहसको सहजीकरण गरिरहेकी बिएलसी सदस्य सजल गैरेले भनिन्, ’यसले बालविवाहका कारण महिलामा पर्ने मनोवैज्ञानिक असरदेखि स्वास्थ्य समस्या सम्मका विषयहरूमा सहभागी विद्यार्थी किशोर, किशोरीहरूले बुझ्न अवसर प्राप्त गरे ।’ त्यसअघि गैरेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपाली समाजमा जरो गाडिरहेको बालविवाह विरुद्ध सामाजिक अभियानमा किशोरकिशोरीहरूकै सहभागिताका लागि बहसमूलक कार्यक्रम ‘टक शो’ आयोजना गरिएको बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि, सामाजिक अभियन्ता समेत रहेकी लेखक शाहिदा वानो शाहले मुस्लिम र मधेसी समुदायमा बाल विवाहको सवालले जरो गाडेको बताइन् । ‘बाल विवाहको उत्पत्ति र यसको निरन्तरतामा धार्मिक, सांस्कृतिक र आर्थिक बहानालाई दोषी देखाउने प्रवृत्ति छ’, त्यसलाई नकार्दै शाहले भनिन्, ‘बालविवाह कुनै पनि धर्मको आदेश होइन, न त मुस्लिम समुदायमा यसको कुनै आदेश छ, न त सनातन धर्ममामै बालविवाह प्रोत्साहन गर्ने कुनै व्यवस्था नै ।’
टक शोका स्रोत व्यक्ति स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बालविवाहले स्वास्थ्यमा पार्ने असर बारे विद्यार्थीहरू बीच बिस्तृत जानकारी प्रस्तुत गरे । ‘सानो उमेरमा विहे भएपछि उनीहरूको शारीरिक विकास अधुरो हुन्छ, गर्भावस्था र सुत्केरीहुने क्रममा ज्यानै जाने जोखिम रहन्छ’, त्यस्ता तमाम घटना भएका प्रसंगहरू सुनाउँदै डा. सुवेदीले अभिभावकदेखि समाजसम्म यसखालको विकृति रोक्न गम्भीर हुनुपर्ने बताए ।
टक शोमा प्यानलिष्टका रूपमा सहभागी उद्यमी महिला कश्मिरा खातुन, सामाजिक अभियन्ता फातिमा फाउण्डेशनका सुवेदा फरहिन लगायतले समाजमा जरो गाडेको विकृति बाल विवाह बारे विविध पक्ष तथा अनुभव सुनाएका थिए । ‘सानै उमेरमा विवाह हुँदा शिक्षाको अवसर मात्रै गुमेन, सामाजिक रूपमा अपमान, पीडा र जीवनकै सीमिततामा महिलाले आफुलाई समाप्त पार्नु परेको छ’, उद्यमी महिला खातुनले विद्यार्थीहरूसँग भनिन्, ‘बालविवाहको समाजले पुरै निरुत्साहित गर्नुपर्छ ।’
फरहिनले बालविवाह रोकथामले सरकार, समाज र अभिभावकहरू बीच सहकार्य आवश्यक रहेको औंल्याउँदै स्थानीय तह, सामाजिक संघ, संस्थाहरू र परिवारले जिम्मेवारी पूर्वक काम गरेमात्रै समाधान सम्भव रहेको बताइन् । समग्र कार्यक्रमको सहजीकरण बिएलसी मल्टिमिडिया हबका सदस्य वीर गुप्ताले गरेका थिए भने कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यार्थीहरूले बालविवाह रोकथामको आवश्यकता र महत्व उजागर गर्नेगरी नाटकीय प्रस्तुति पनि गरेका थिए ।