कोहलपुर नगरपालिका वडा नं.२ की माया शाहीलाई आफ्नै घरआगन अगाडि नै रोजगारी पाउँदा खुसीको सीमा छैन । निश्चित समयका लागि भएपनि घरआगन अगाडि रोजगारी पाउँदा अत्यन्तै खुसी छु उनी भन्छिन्–‘८ घण्टा काम गर्छु साँझ विहानको समयमा घरको काममा पनि गरिहाल्छु ।’ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलुर नगरपालिकाले बेरोजगारहरुलाई काम दिन थालेपछि शाही जस्तै खुसी छन् देउरुप वली पनि । कोहलपुर नगरपालिका वडा नं.१२ का उनी एक सय दिन बराबरको रोजगारीमा छनौट भएर काम गर्दै आएका छन् ।
‘यसरी रोजगारी पाउँदा घरपरिवारको भैपरी आउने खर्चपनि टर्ने उनी भन्छन्–‘घर परिवारसँगै बसेर गर्न सकिने भएकाले एकदम खुसी छु ।’ एक सय दिन बराबर उनीहरुले प्रतिदिन छ सय ६८ रुपैयाँ बराबरले ज्याला पाउछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा श्रममा आधारित योजनाबाट चालु आर्थिक वर्षमा एक सय २० जनाले रोजगारी पाएका छन् । चालु आर्थिक वर्षमा कोहलपुर नगरपालिकामा १७ वटा योजना सञ्चालनमा रहेको रोजगार संयोजक आशिष वर्मा बताउँछन् । जसमा नेपाल सरकार र युवा रोजगारीको लािग रुपान्तरण पहल (आइडिए) को स्रोतबाट योजनाहरु सञ्चालनमा छन् । कोहलपुर नगरपालिकाका वडा नं.१, २, ३, ४, ५, ८, १२, १३ र १५ मा योजनाहरु सञ्चालनमा छन् ।
‘कोहलपुर नगरपालिकाका ९ वटा वडामा १७ वटा योजना सञ्चालनमा छन् उनी भन्छन्–‘यो आर्थिक वर्षमा एक सय २० जनाले रोजगारी पाएका छन् ।’ रोजगारी प्राप्तीका लागि वार्षिकरुपमा बेरोजगारहरुको तथ्यांक सूचिकृत गर्ने गरिएको संयोजक वर्मा बताउँछन् । ‘बेरोजगारहरुको वडा कार्यालयबाटै सूचिकृतका लागि आवेदन माग गरिएको हुन्छ उनी भन्छन्–‘यसरी सूचिकृत भएकाहरुबाट व्यक्तिहरुको छनौट गरिन्छ ।’ चालू आर्थिक वर्षका लागि तीन सय ७५ जना सूचिकृत भएका थिए । तीमध्ये एक सय २० जना छनौट भएका हुन् । नेपाल सरकारको स्रोतबाट ८० जना र आइडिएबाट ४० जनाले रोजगारी प्राप्त गरेका हुन् । ‘हामीले सूचिकृत भएकाहरुले नामावली श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउँछौं उनी भन्छन्–‘मन्त्रालयबाटै व्यक्तिहरुको छनौट गरिन्छ ।’ रोजगारीका लागि विपन्न, महिला, एकल महिला, दलित, जनजाति लगायतलाई बढी प्राथमिकता दिने गरिएको छ । उनीहरुले रोजगार सेवाअवधिको आधारमा एक जनाले कम्तिमा ३० हजारदेखि ६४ हजारसम्म ज्याला पाउने रोजगार सेवा केन्द्रका प्राविधिक सहायक ललित रेग्मीले बताए । उनीहरुलाई वडाको योजनाहरुको काममा लगाउने गरिएको छ । ‘उनीहरुले श्रममा आधारित योजनाहरुमा काम गर्नुपर्छ रेग्मीले भने– ‘कामको मूल्यांकनका लागि निरन्तर अनुगमन समेत हामीले गर्ने गरेका छौं ।’
आइडिए स्रोतबाट छनौट भएकालाई ५० दिन बराबरको सीपमूलक तालिम समेत प्रदान गरिनेछ । सीपमूलक तालिम प्राप्त गरेका उनीहरुले एक सय दिन बराबरको रोजगारी प्राप्त गर्नेछन् । त्यसका लागि चालू आर्थिक वर्षमा २३ लाख बराबरको बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएपनि यसलाई अझ वृह्तर बनाउनुपर्नेमा नगर प्रमुख पूर्ण प्रसाद आचार्यको जोड छ ।
‘एकैपटक सबै वेराजगारलाई रोजगारी दिने कुरा सम्भव नहोला उनी भन्छन्–‘प्राथमिकताको सूचिका आधारमा आवश्यक परेकाहरुलाई समेट्दै लगिनु पर्छ । त्यसमा कोहलपुर नगरपालिका स्पष्ट छ ।’ उनले आफ्नै घरआगनमा निश्चित समयका लागि प्राप्त गर्ने रोजगारीले पनि घरखर्च चलाउन सहज हुने बताए ।