कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मंगलवार औपचारिक रूपमा कोहलपुरलाई पूर्ण खोप सुनिश्चिततता तथा दिगोपना घोषणा गरेका हुन् ।
कोहलपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका चौधरीले सबै बालबालिकाहरूलाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका अथक प्रयासले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सम्भव भएको पनि उल्लेख गरे । स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण कुरा खोप रहेको औल्याउँदै प्रमुख चौधरीले कतिपय समुदायमा अझैपनि खोपप्रतिको धारणा फरक रहेको भन्दै उनीहरूलाई पनि खोपको महत्व र आवश्यकताबारे बुझाउनुपर्ने बताए ।
यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले खोपको आवश्यकता र महत्वबारे अभिभावकहरूलाई नै बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताए । उनले नियमित खोपका कारण जीवनको आयु लम्विने भएकाले त्यसकोबारेमा आम अभिभावकहरूलाई जानकारी गराउनुपर्ने बताए । पूर्ण खोप घोषणामा स्वास्थ्यकर्मीको लगानीलाई कोहलपुर नगरपालिकाले मूल्यांकन गरेको पनि उल्लेख गरे । छुटेका बालबालिकाहरूले समेत खोप पाएकाले नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको उनको भनाइ छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने र स्वास्थ्यमा पहिलो नम्बरको कार्यक्रम नै खोप कार्यक्रम भएको बताए । खोप नपाउने बच्चा अपांगता हुन सक्ने भएकाले अनिवार्य रूपमा खोप लगाउनुपर्ने उनको भनाइ छ । खोप कार्यक्रम प्रभावकारी गराउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने प्रमुख शाहीले बताए ।
कोहलपुर नगरपालिकामा खोप लगाउन छुटेका २६ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यकारी अधिकृत विक्रम पाण्डे, कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष लालबहादुर राना, सामाजिक विकास समितिका संयोजक इश्वरी विक, वडा नं.२ मा रहेको स्वास्थ्य चौकीका ईन्चार्ज लिला बहादुर बुढाथोकी, महिला स्वास्थ्य स्वयंसेविका भगवती बस्नेत लगायतले बोलेका थिए ।
बाँकेका ८ वटा पालिकामध्ये ४ वटा पालिका कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । खजुरा, जानकी र बैजनाथ गाउँपालिका यसअघि नै कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भइसकेका छन् ।