बलपूर्वक बेपत्ता पारिएका ब्यक्तिका परिवारजनले तत्काल बेपत्ता आफन्तको स्थिति सार्वजनिक गर्न माग गरेका छन् । बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बर्दियाको कुम्भरअड्डामा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीहरूले न्यायको प्रत्याभूतिका लागि पीडित मैत्री संक्रमणकालिन न्यायमा प्रक्रियामा जोड दिएका थिए । उनीहरूले प्रश्न गरेका थिए, ‘खोई मेरा आफन्त ?’
बेपत्ता पारिएकाहरूको सम्झना गर्ने, पीडितको न्यायको पक्षमा वकालत गर्ने र पीडितहरूको अधिकार प्रति जागरुक गराई न्यायको पक्षमा जनचेतना अभिबृद्धी गर्दै वकालत र पैरवी गर्ने उद्देश्यले बर्दियाको बारबर्दिया नगरपालिकाको कुम्भरअड्डा र बर्दियाको गुलरियामा शुक्रवार छुट्टाछुटै कार्यक्रम सम्पन्न भएको हो । बर्दियाको बारबर्दिया कुम्भरअड्डा स्थित बेपत्ता योद्धा सहिद पार्कमा, बेपत्ता पारिएकाहरूको सम्झनामा बृक्षारोपण, अन्तरक्रिया र दिपप्रज्वलनका साथ कार्यक्रम गरिएको छ ।
एडभोकेसी फोरम नेपालले, कुम्भरअड्डा बेपत्ता योद्धा स्मृति पार्क ब्यवस्थापन समिति, न्यायका लागि द्वन्द्व पीडित समाज, द्वन्द्व पीडित महिला राष्ट्रिय संजाल, लगायतका द्वन्द्वपीडितका सघ सस्थाहरू, अधिकारवादीसंघ सस्थाहरूको सहकार्यमा कार्यक्रम गरिएको थियो ।
कुम्भरअड्डा बेपत्ता योद्धा स्मृति पार्कका अध्यक्ष निरन्जन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्थाका तर्फबाट एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले टिआरसी सम्बन्धी नया कानूनमा भएका सकारात्मक र त्रुटीपूर्ण बँुदाहरूका बारेमा प्रकाश पारेका थिए । नयाँ कानूनमा परिपुरणलाई पीडितको अधिकारको रूपमा ब्यवस्था गर्ने लगायत सकारात्मक पक्ष भए पनि अपराधमा संलग्नलाई ७५ प्रतिशतसम्म छुट दिने कुरा त्रुटीपूर्ण रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण कुसुमा थारुले आफु स्वयम पनि द्वन्द्व पीडित भएको र धेरै आफन्त बेपत्ता भएको भन्दै पीडितको न्यायको प्रत्याभुतिका लागी आफु प्रतिवद्ध रहेको बताइन् ।
कार्यक्रममा बोल्दै बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले बारबर्दिया नगरपालिकामा ८१ जना बेपत्ता मृतक रहेको बताउनु भयो । द्वन्द्व पीडितका लागि आयमुलक, शिपमुलक कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बिमा लगायतका कार्यमा पीडितहरूको तर्फबाट पनि आवश्यक सहयोग र सक्रियता जरुरी रहेको बताए ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्न कुमारी पाण्डेले पीडितको पीडामा मलम पट्टी लगाउन पालिका तयार रहेको भन्दै पीडितहरूका तर्फबाट पनि ठोस माग र सहयोग हुनुपर्ने बताइन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत धनराज शाहीले न्याय पाउनु पीडितको अधिकार भएकाले पीडितको न्यायमा राज्यका निकाय गम्भिर बन्नु पर्नेमा जोड दिए ।
कार्यक्रमा सहभागी बेपत्ता परिवारले बेपत्ता पारिएकाहरूको स्थिति सार्वजनिक गरिनु पर्ने, पीडितले न्यायको प्रत्याभुति गरिनु पर्ने, संक्रमणकालिन न्यायका संयन्त्र पीडित मैत्री हुनुपर्ने माग गरेका थिए ।
कुम्भरअड्डा बेपत्ता योद्धा स्मृति पार्कका अध्यक्ष निरन्जन चौधरीले ७५ प्रतिशत छुट दिने टिआरसी कानून त्रुटीपुर्ण रहेको भन्दै पीडित मैत्री संक्रमणकालिन न्यायमा जोड दिए ।
कार्यक्रममा संक्रमणकालिन न्यायको पछिल्लो अवस्था बारे पीडितहरूलाई जानकारी गराउने, सर्वोच्च अदालतबाट बेपत्ता परिवारको सम्पत्तिको अधिकार र बेपत्ता पारिएकाका श्रीमती एकल महिला सरहको सामाजिक सुरक्षाको अधिकार र पीडितको परिपुरणको सवालमा स्थानिय सरकारको भुमिकाका बारेमा एडभोकेसी फोरमका तर्फबाट अधिवक्ता बसन्त गौतमले जानकारी गराए ।
कार्यक्रम पूर्व बेपत्ता पारिएकाहरूको सम्झनामा कुम्भरअड्डा पार्क परिसर भित्र बिभिन्न जातका बिरुवा लगाइएको थियो ।
यसैबीच, बारबर्दिया नगरपालिकाले पनि बेपत्ता बिरुद्धको दिवसका सन्दर्भमा छुटै कार्यक्रम गरेको छ । नगरप्रमुख छविलाल थारुको अध्यक्षतामा भएको कार्यक्रमा नगरपालिकामा भएको कार्यक्रममा एडभोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम सहभागी भई संक्रमणकालिन न्याय सम्बन्धी नयाँ कानून र पीडितको न्यायका बारेमा प्रकाश पारेका थिए ।
बर्दिया जिल्लाको बिभिन्न पालिका स्तरमा पनि बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रम आयोजना गरिएको छ ।
बर्दियाको गुलरियामा द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण कुसुमा थारुले आफु स्वयम पनि द्वन्द्व पीडित भएको र धेरै आफन्त बेपत्ता भएको भन्दै पीडितको न्यायको प्रत्याभुतिका लागि आफुले निरन्तर आवाज उठाउदै आएको बताइन् । आफु पनि पीडित भएकाले पीडा कस्तो हुन्छ भन्ने बारेमा जानकार रहेको बताउदै पीडितको न्यायमा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता जनाइन् ।
कार्यक्रमा पीडित परिवारले बेपत्ता पारिएकाहरूको स्थिति सार्वजनिक गरिनु पर्ने, पीडितले न्यायको प्रत्याभूति गरिनु पर्ने, संक्रमणकालिन न्यायका संयन्त्र पीडित मैत्री हुनुपर्ने माग गरेका थिए ।
बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बेपत्ता आफन्तको सम्झनामा बाँकेका पीडित परिवार र अधिकारकर्मीले शुक्रवार साँझ बाँकेको धम्बोजीमा दिप प्रज्वलन गरेका छन् ।
दिप प्रज्वलन कार्यक्रममा न्यायका द्वन्द्व पीडित समाज, द्वन्द्व पीडित महिला राष्ट्रिय संजाल, एडभोेकसी फोरम नेपाल, राष्ट्रिय मानव अधिकार आयोग लगायतका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहको थियो ।
दिप प्रज्वलन कार्यक्रममा द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका चन्द्रकला उप्रेतीले ७५ प्रतिशत छुट दिने गरि बनाइएको संक्रमणकालिन न्याय सम्बन्धी कानून त्रुटीपूर्ण रहेको भन्दै पीडित मैत्री न्याय प्रक्रियामा जोड दिइन् ।
एडभोेकसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले सत्य, न्याय र परिपुरण प्राप्त गर्ने पीडितको अधिकार रहेको भन्दै पीडितको न्यायको प्रत्याभूतिका लागि राज्य संवेदनशिल हुनु पर्नेमा जोड दिए । मानव अधिकार आयोगका अधिकृत धनराज शाहीले बेपत्ताको सार्वजनिकरण र न्यायमा जोड दिए ।
