नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आगामी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। रस्साकस्सी बीच राजनीतिक दाउपेच चल्दै गर्दा मंगलबार उद्घाटन सत्र पछि सुरु हुने निर्वाचन प्रक्रिया र बन्द सत्र समेत अवरुद्ध भएको छ।
सम्बद्ध स्रोतका अनुसार, नेतृत्वका दाबेदारीमा होडबाजी बढ्दै जाँदा प्रतिनिधि विवाद सिर्जना गरी बन्द सत्र प्रभावित भएको हो। वर्तमान जिल्ला कार्यसमितिका महासचिव जिआर भुसाललाई वर्तमान कार्यसमिति र युवा पंक्तिले नेतृत्वमा अगाडि सारेको तथा पूर्व अध्यक्ष समर बहादुर खत्रीलाई राजनीतिक रूपमा अगाडि सारिएपछि सर्वसम्मत नेतृत्वको प्रयास असफल भएको बताइएको छ।
‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरिनेछ’, अध्यक्ष मधु खड्काले दैनिक नेपालगन्जसँग भनिन्, ‘सम्भव हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट बाटो खुल्दैछ।’ त्यसका लागि अधिवक्ता विकास आचार्यको नेतृत्वमा निर्वाचन समितिले आफ्नो पूर्व तयारी गरिरहेको अध्यक्ष खड्काले जानकारी दिइन् ।