वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो आर्थिक बर्षमा चार अर्ब बढीको कारोबार गरेको जनाएको छ । ‘आर्थिक मन्दीका बीच पनि कारोबारमा कुनै समस्या छैन’, सहकारीका प्रबन्धक थानिश्वर पाण्डेयले दैनिक नेपालगन्जसँग भने, ‘आर्थिक सुशासन र लगानीका प्राथमिकतामा संस्था प्रष्ट भएकाले आर्थिक गतिविधिलाई बढोत्तरीकै दिशामा अगाडि बढाइरहेका छौं ।’
वेष्टर्नले शनिबार आफ्नो १५औं बार्षिक साधारणसभाको आयोजना गर्यो । साधारणसभा उद्घाटन गर्दै नेपालगन्जका वरिष्ठ व्यवसायी डा. सुरेश कुमार कनोडियाले वित्तीय सुशासन व्यवस्थापन गर्न सक्ने कुनै पनि सहकारीलाई समस्या नपर्ने बताए ।
संस्थाका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको साधारणसभा उद्घाटनमा पूर्व अध्यक्ष इश्वर पोखरेल, संस्थापक सचिव अधिवक्ता इश्वरी प्रसाद ज्ञवाली, उपाध्यक्ष अजयकुमार शर्मा लगायतले वेष्टर्नको विश्वास बढाउँदै कारोबारलाई पनि सकारात्मक दिशातर्फ अगाडि लैजान सफल भएको धारणा राखेका थिए ।
सचिव राजिवराज शर्माले सहजीकरण गरेको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष शेयर झविन्द्र मरासिनी, पुष्पा शर्मा लगायतले संस्थाको कारोबारप्रति सन्तुष्टी व्यक्त गरे । कार्यक्रममा संस्थाका लागि योगदान गर्ने अजय कुमार कनोडिया, जीवन शर्मा, मित्रलाल शर्मा, गगन सिंह साउद, बालकृष्ण भट्ट, विनय कुमार शर्मा, वीरेन्द्र कुमार गुप्ता, सुमन गौतम, सिता भण्डारी, नीता बश्याल, अशोक अग्रवाल, हरिकला डाँगी, सीमा शर्मा गौतम लगायतलाई सम्मान गरिएको थियो ।
प्लस टुमा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुने अपिल गैरेलाई नगद १० हजार सहित पुरस्कृत गरिएको कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहनका लागि सम्मान गरिएको संस्थाका प्रबन्धक पाण्डेयले जानकारी दिए । उद्घाटन सत्र पछिको छलफलमा शेयरधनीहरु बीच अध्यक्ष सञ्जय थापाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिलाल न्यौपानेको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक जयदेव अवस्थीको लेखा सुपरिवेक्षण प्रतिवेदन र अडिट रिपोर्टबारे छलफल गरिएको थियो ।
२०६७ साल साउन ११ गते ५२ जना शेयर सदस्यको १२ लाख ५० हजार शेयर पूँजीबाट सुरु गरेको वेष्टर्न १५औं बर्ष प्रवेश गरिरहँदा १ हजार ४ सय २ जना शेयर सदस्य संगठित भै १० करोड ५२ लाख ८७ हजार १ सय चुक्ता शेयर पूँजीका साथ कारोबार गरिरहेको संस्थाले जनाएको छ ।
