नेपालगन्जमा झण्डै एक करोड लागतमा मेकअप स्टुडियो सञ्चालनमा आएको छ । नेपालगन्जको गणेशपुरमा ९० लाख बढीको लागतमा सौन्दर्य विज्ञ एकता बमले मेकअप स्टुडियो सञ्चालनमा ल्याएकी हुन् । बिहीबार औपचारिक कार्यक्रम बीच सञ्चालक एकताले आफ्ना अभिभावक श्यामकुमार शर्मा सहित मेकअप स्टुडियोको उद्घाटन गरिन् ।
दिनभर निःशुल्क स्कीन टेष्ट गरिएको ‘द मेकअप स्टुडियो बाइ एकता’ मेकअप स्टुडियोमा सौन्दर्य र मेकअपको महत्वबारे बुझ्ने बुझाउने काम पनि गरिएको थियो ।
स्टुडियो सञ्चालक एकताले ९० लाख बढीको लगानीमा सुविधा सम्पन्न प्रविधियुक्त मेकअप स्टुडियो सञ्चालनमा ल्याएको जानकारी दिंदै लामो समयदेखि आफुले त्यसबारे अध्ययन गर्दै आएकाले नेपालगन्जमा पहिलो पटक यसखालको स्टुडियो सञ्चालनमा आएको दाबी गरिन् । ‘एयर होस्टेजको सुविधा सम्पन्न जागिर छाडेर आफ्नै ठाउँमा केही गर्ने उद्देश्यका साथ नेपालगन्ज आएर मेकअपको महत्व जानकारी गराउँदै यसको विकास र बिस्तारमा आफु केन्द्रित भएको’ एकताको भनाइ थियो ।
‘मेकअपले महिलालाई आत्मविश्वासको विकास गर्छ’, एकताले दैनिक नेपालगन्जसँग भनिन्, ‘यसलाई सामान्य सौन्दर्यका रूपमा मात्रै हेर्नु भन्दा महिलाका लागि महत्वपूर्ण पक्ष हो भन्ने कुरा समाजलाई पनि बुझाउँदै जानु आजको आवश्यकता हो ।’
‘अरू भन्दा केही फरक दिनेगरी म आएकी हुँ’, सौन्दर्य विज्ञ एकताले भनिन्, ‘विथ डिसिप्लिन यो स्टुडियोले महिलाहरूको सौन्दर्यमा विशेष ध्यान दिन्छ ।’ नेपालगन्जको सानो बजारलाई पनि महत्वपूर्ण सेवा दिने आफ्नो उद्देश्य रहेको युवा उद्यमीका रूपमा उदाएकी एकताले प्रष्ट पारिन् ।
स्टुडियोका अभिभावक शर्माले नेपालगन्जमा महिलाहरूका लागि एउटा महत्वपूर्ण गन्तव्य तयार गर्न एकताले गरेको प्रयास प्रशंसनीय रहेको बताए ।

