वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करणसँगै नेपालगन्जको मुटु त्रिभुवन चोकमा ‘नेपालगन्ज फुडलेन’को परिकल्पना गरिएको छ । ‘फुडलेन स्वाद र संस्कृतिको संगमस्थल हुनेछ,’ मार्ट मूल आयोजक समितिले विहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा परिकल्पनाकार श्रीराम सिग्देलले भने, ‘यस वर्ष मार्टको मुख्य आकर्षणनै ’स्ट्रिट फुडलेन’ हुनेछ ।’ उनका अनुसार, जहाँ बाँके जिल्लाका अद्वितीय र रैथाने परिकारहरूको स्वाद लिन पाइनेछ ।
नेपालगन्ज फुडलेनका परिकल्पनाकार सिग्देल, जो नाट्टा बाँकेका अध्यक्ष पनि हुन्, उनले लामो समयदेखि यसका लागि पहल लिंदै आएका थिए । ‘यसको उद्देश्य स्थानीय खानाको विविधतालाई प्रवद्र्धन गर्नु र पर्यटकहरूलाई नेपालगन्जको प्रामाणिक पाक अनुभव प्रदान गर्नु रहेको’ बताए । ‘हामी त्रिभुवनचोक स्ट्रिट फुडलेनलाई एउटा नमुनाको रूपमा सुरु गर्दैछौं, र हाम्रो लक्ष्य सरोकारवालाहरूलाई यसलाई निरन्तरता दिन दबाब दिनु हो, ताकि यो नेपालगन्जको स्थायी आकर्षण बन्न सकोस्’ मार्ट आयोजक मूल समितिका संयोजक सिग्देलले पत्रकारसँग भने ।
नाट्टा नेपालगन्ज च्याप्टर अध्यक्ष सिग्देलकै पहल र परिकल्पनामा ट्राभल मार्टको दोस्रो संस्करणदेखि नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरीमा सुरु गरिएको महाआरतीले निरन्तरता पाइरहेको छ । १२३औं शृंखला पूरा गरिसकेको महाआरतीलाई व्यवस्थित गर्न दबाब छ । ‘यस वर्ष स्ट्रिट फुडलेनले पनि त्यस्तै प्रकारको लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ,’ पत्रकार सम्मेलनमा सहभागी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यले भने ।
आयोजकका अनुसार, यसपटक पर्यटकहरूले स्वादिष्ट स्थानीय खाजाहरू, परम्परागत व्यञ्जनहरू र विशेष पेय पदार्थहरूको आनन्द लिन सक्नेछन् । यो स्ट्रिट फुडलेनले आगन्तुकहरूलाई केवल खानाको स्वाद मात्र नभई नेपालगन्जको जीवन्त संस्कृति र आतिथ्यको अनुभव पनि प्रदान गर्ने भनिएको छ । ‘तेस्रो संस्करणले नेपालगन्जको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ,’ आयोजनामा सक्रिय नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान उप–प्रमुख उमा थापामगरले भनिन् ।