मानवीय बुद्धि, साधना, अध्ययन, लगन र अतृप्त जिज्ञासाको मिलनबाट ज्ञानका क्षेत्रफलहरू फैलिँदै जाँदा एउटा सामान्य बुद्धि परिष्कृत भएर दर्शनको उच्च क्षेत्रमा प्रवेश गर्छ । दर्शन कुनै आकासे फल होइन, यो त जिज्ञासाको समाधानका लागि गरिएको मिहिनेत र संघर्षबाट खारिएको मानव चेतनाको निचोड हो । यही चेतनाको आलोकमा उभिएर हेर्दा हालै नेपालगञ्जमा सम्पन्न दर्शन विमर्शका कतिपय पक्षमाथि पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।
नेपालगञ्जमा मेरो बसाइ पाँच दशक पुगिसक्यो । यो अवधिमा यहाँ अनेकौँ प्राज्ञिक बहस भए, तर दर्शनमाथि केन्द्रित विमर्शको खडेरी नै थियो । हालै ’शाश्वत आचार्य प्रतिष्ठान’ र ’भेरी साहित्यिक समाज’को पहलमा ”पूर्विय दर्शन”माथि एउटा विमर्श भयो । यो नेपालगञ्जका लागि एउटा भिन्न र सुखद प्राज्ञिक अभ्यास पनि हो ।
तर, उक्त कार्यक्रममा प्रस्तुत धारणाले दर्शनको विशाल आकाशलाई एउटा सानो कोठामा थुन्ने प्रयत्न गरे जस्तो मलाई लाग्यो । कार्यक्रमको ब्यानर र प्रवचनबीच प्रस्ट विरोधाभास देखिए । नेपालगञ्जमा एउटा नास्ताको परिकार ’घमन्जा’मा धेरै स्वाद मिसाइने गरेझैँ, त्यो व्याख्यानमाला पनि घमन्जा जस्तै भान भयो । मेरा ज्ञानका सीमितताका कारण विद्वान प्रवचक मुरारी गौतम आफैँमा भ्रमित (कन्फ्युज्ड) जस्तो लागेपछि मैले जिज्ञासा पनि राखेँ । उहाँको प्राज्ञिक प्रोफाइल ठूलो रहेछ, तर मेरा जिज्ञासा अनुसार मैले खोजेको धर्म र दर्शनको व्याख्या व्याख्याताको प्रवचनसँग मेल खान सकेन । त्यतिबेला मलाई प्लेटोको गुफाको सिद्धान्त र बदलिइरहने सत्यको याद आयो ।
प्लेटोको गुफा र भ्रमको संसार
प्लेटोले एउटा भूमिगत गुफाको कल्पना गरेका छन्, जहाँ केही मानिसहरू जन्मैदेखि साङ्लोले बाँधिएका छन् । तिनीहरूको टाउको यसरी बाँधिएको छ कि उनीहरू केवल अगाडिको पर्खाल मात्र देख्न सक्छन ्। ती बाँधिएका मानिसहरूले पर्खालमा केवल बाहिरको आगोका कारण बनेका वस्तुहरूको ’छायाँ’ मात्र देख्छन् र बाहिरबाट आएको आवाजलाई ती छायाकै आवाज ठान्छन् । तिनीहरूका लागि त्यही छाया नै एकमात्र र अन्तिम ‘सत्य’ बन्छ ।
यदि तीमध्ये एकजनालाई बन्धनमुक्त गरेर गुफाबाहिर ल्याइयो भने, सुरुमा आगो र सूर्यको कडा प्रकाशले उसका आँखाहरू तिरमिराउँछन् । ऊ पीडाले छटपटाउँछ र फेरि गुफाकै अँध्यारोमा फर्कन खोज्छ । तर बिस्तारै, उसका आँखा प्रकाशमा अभ्यस्त हुँदै जाँदा उसले वास्तविक संसार देख्छ । तब उसलाई थाहा हुन्छ कि उसले जीवनभर जे देख्यो, त्यो त वास्तविक वस्तुको प्रतिविम्ब वा छाया मात्र पो रहेछ ! यहाँ ’सत्य’ चेतनाको स्तरसँगै फेरिन्छ । त्यो त विचार र आदर्शको संसारको छाया मात्र हो । चेतना र ज्ञानको विकाससँगै सत्यको परिभाषा बदलिन्छन् ।
गुफाबाट मुक्त भएको व्यक्ति वास्तविक सत्य देखेर पुनः आफ्ना पुराना साथीहरूलाई ’मुक्त गर्न’ र सत्य बताउन गुफाभित्र फर्कन्छ, तब गुफाका मानिसहरूले उसको कुरा पत्याउँदैनन् । उल्टै उसलाई गिज्याउँछन् र भन्छन— “यो त बौलाएछ ।“
संज्ञानात्मक असंगति र अहम्
कुनै नयाँ तर्क वा सत्यले स्थापित मान्यता, विश्वास वा दृष्टिकोणलाई चुनौती दिएपछि मस्तिष्कमा एउटा असहजता वा तनाव पैदा हुन्छ । यसलाई मनोविज्ञानमा ’कग्निटिभ डिसोनेन्स’ भनिन्छ । अहंकारले आफूलाई ’गलत’ साबित हुन नदिन त्यो नयाँ तर्कलाई नै अस्वीकार गरिदिन्छ ।
गुफाका मानिसहरूको अहंकार जीवनभर विश्वास गरेको ’छायाँको संसार’ सँग जोडिएको छ । यदि उनीहरूले बाहिरबाट आएको मानिसको तर्क स्वीकार गरे भने, उनीहरूको आफ्नो पहिचान, ज्ञान र अहम् समाप्त हुन्छ । आफू मूर्ख देखिने डरले इगोले सत्यको खोजी गर्नुको साटो तर्क गर्ने व्यक्तिमाथि नै आक्रमण गर्न थाल्छन् । अहम्ले मानिसलाई त्यस्ता कुराहरू मात्र खोज्न र स्वीकार्न बाध्य पार्छ, जसले उसको पुरानो विश्वासलाई बलियो बनाउँछ । आफ्नो अहम् जोगाउन मानिस अकाट्य तर्कका अगाडि पनि अन्धो बनिदिन्छ ।
‘द रिपब्लिक’मा प्लेटोले गुफाको माध्यमबाट भिडको मनोविज्ञान र तत्कालीन एथेन्सको लोकतन्त्रको विकृतिमाथि कडा प्रहार गरे । गुफाभित्रका मानिसहरू एक्ला छैनन्, तिनीहरू समूहमा छन् । भिडको विशेषता के हुन्छ भने, यदि बहुमतले कुनै झुटलाई सत्य मानिरहेको छ भने, त्यहाँ तर्क र विवेक हराउँछ । भिड सधैँ यथास्थितिवादी हुन्छ । उसलाई आफ्नो अँध्यारो र आरामदायी गुफा प्यारो लाग्छ । नयाँ विचार, क्रान्ति वा दार्शनिक चेतनाले भिडलाई असुरक्षित महसुस गराउँछ । प्लेटो भन्छन्— “यदि गुफाबाहिरको सत्य बुझेर फर्केको दार्शनिकले त्यो भिडका मानिसहरूलाई साङ्लोबाट मुक्त गर्न खोज्यो भने, भिडले उसलाई पागल सम्झन्छ र सम्भव भयो भने उसको ज्यान समेत मारिदिन्छ ।“ (यहाँ प्लेटोले आफ्ना गुरु सुकरातलाई एथेन्सको भिड र शासकहरूले विष दिएर मारेको ऐतिहासिक घटनालाई सांकेतिक रूपमा प्रस्तुत गरेका हुन)। स्थापित भ्रमहरूलाई तोडेर विवेकको प्रकाशतर्फ लाग्नु नै वास्तविक बौद्धिक र दार्शनिक यात्रा हो ।
नेपालगञ्जको प्रवचनमा देखिएका संकुचनहरू
प्लेटोको गुफा सिद्धान्तको कसीमा हेर्दा उक्त प्रवचनमा मैले मुख्यतः निम्न विरोधाभास र संकुचनहरू देखेँः
क) धर्म र दर्शनको घालमेलः विद्वान प्रवक्ताको प्रस्तुतिमा धर्म र दर्शनलाई जसरी मिसाइयो, त्यो दार्शनिक दृष्टिले त्रुटिपूर्ण छ । धर्म ’आस्था’ र ’विश्वास’को विषय हो, जहाँ प्रश्न गर्न वर्जित हुन सक्छ । तर दर्शन तर्क, सन्देह र विवेकको कसी हो ।
ख) वैदिक साहित्य र इतिहासको फ्युजनः वैदिक साहित्य न विशुद्ध धार्मिक ग्रन्थ हुन् न त इतिहास नै। इतिहासलाई पुरातात्विक परीक्षणका लागि अब विश्वासमा मात्र भर नपरी प्रमाणित गर्ने डीएनए र कार्बन डेटिङ जस्ता वैज्ञानिक प्रविधिको विकास भइसकेको छ । रामायण, महाभारत जस्ता वैद्दिक साहित्यिक नायकहरूलाई दर्शनसँग घालमेल गर्दा दार्शनिक र ऐतिहासिक पाटो ओझेलमा पर्यो ।
ग) मनुस्मृति जस्ता कृतिहरूलाई दर्शनको कोटीमा राख्नु अर्को गल्ती थियो । मनुस्मृति दर्शन नभएर एउटा खास कालखण्डको ’ब्राह्मणवादी शासन विधि’ मात्र हो, जसले समाजलाई श्रेणीबद्ध र विभेदकारी बनाउन भूमिका खेल्यो ।
घ) सीमांकनको भ्रम (पूर्व र पश्चिमको कृत्रिम पर्खाल)ः पूर्वीय दर्शन भनेर केवल भारतीय वा वैदिक दर्शनलाई मात्र बुझ्नु र बुझाउनु एउटा औपनिवेशिक भाष्यको निरन्तरता मात्र हो । संसारलाई पूर्व र पश्चिम गरी दुई भागमा बाँड्ने काम युरोपेली शक्तिहरूले आफ्नो स्वार्थ अनुकूल गरे । उनीहरूले ग्रीक चिन्तनलाई दर्शन र अरूका विचारलाई अन्धविश्वास वा संस्कृतिको संज्ञा दिए ।
दर्शनको वास्तविक भूगोल र संहारको इतिहास
यदि हामी दर्शनलाई भूगोलमा कैद गर्छौँ भने हामीले धेरै कुरा गुमाउँछौँ । पूर्व भन्नाले फारस, अरब, ह्वाङ–हो र निप्पन (जापानी) दर्शनलाई किन बिर्सने ? फारस र अरब दर्शनः जसले तर्क र अध्यात्मलाई जोडेर विश्व चिन्तनमा पुलको काम गर्यो ।
ह्वाङ–हो (चिनियाँ) दर्शनः जहाँ कन्फुसियसको नैतिकता र ’लिगलिज्म’ (विधिवाद) को व्यावहारिक चिन्तन छ । निप्पन दर्शनः जसले प्रकृति र शून्यतालाई ’शिन्तो’ र ’जेन’ मार्फत विशिष्ट ढङ्गले व्याख्या गर्छ ।
मानव इतिहासको एउटा तितो यथार्थ के हो भने, शक्ति जहिले पनि ज्ञानको दुश्मन बन्यो । शासक र आक्रान्ताहरूले सभ्यतालाई नष्ट गर्न चाहँदा पहिलो प्रहार पुस्तक र पुस्तकालयमाथि नै गरे । ज्ञानले प्रश्न गर्छ र चेतना जगाउँछ, जुन शक्ति र धर्मका लागि सधैँ घातक मानिन्छ । त्यसैले त, अलेक्जेन्ड्रियाको पुस्तकालय खरानी बनाइयो; तक्षशिला र नालन्दा जलाइयो; बगदादको ’हाउस अफ विजडम’ ध्वस्त पारियो भने चीनका ग्रन्थहरू आगोमा झोकिए । इरानका समृद्ध पुरातत्व र पुस्तकालयहरू नामेट पारिए । यी सबै घटनाले के पुष्टि गर्छन् भने, विचारलाई पराजित गर्न नसकेपछि शक्तिले सधैँ प्रमाणलाई जलाउने बाटो रोज्यो ।
यही बौद्धिक संहारको शिकार हाम्रो मौलिक चार्वाक (लोकायत) दर्शन पनि भयो । अचम्मको कुरा त के छ भने, चार्वाकका आफ्ना मूल ग्रन्थहरू आज अस्तित्वमा छैनन्; उनका विचारहरू केवल विरोधीहरूको खण्डन र आलोचनामा मात्र सुरक्षित छन् । यो सत्यमाथि गरिएको शक्तिको कति भयानक प्रहार हो भन्ने यसैबाट प्रष्ट हुन्छ ।
अध्यात्मवादको एकाधिकार र भौतिकवादको उपेक्षा
चिन्तनलाई केवल ‘आध्यात्मिक’ वा ’परलोक–केन्द्रित’ मान्नु अर्को ठूलो बौद्धिक भ्रम हो । चार्वाक (लोकायत) दर्शनले ‘प्रत्यक्ष’ बाहेक अरू प्रमाणलाई मान्दैन र पुनर्जन्मको अस्तित्वलाई पूर्णतः अस्वीकार गर्छ । बुद्धको ‘अप्प दीपो भव’ (आफ्नो प्रकाश आफैँ बन) भन्ने सन्देश शास्त्र र अन्धविश्वास विरुद्धको एउटा ठूलो दार्शनिक विद्रोह थियो । उक्त व्याख्यानमा यी भौतिकवादी र विद्रोही धारहरूलाई न्यूनीकरण गरियो । दर्शन भक्तिशास्त्र होइन ।
भनिरहनु परेन, दर्शनका मूलतया दुई धारा छन— आध्यात्मिक र भौतिकवादी स्कूल । यसलाई पूर्वीय र पश्चिमी दर्शनमा मात्र कैद गर्नु भनेको शक्ति–खेलको भाष्य निर्माण गर्नु मात्र हो । पूर्वीय दर्शन भन्दै गर्दा फारस, अरब, ह्वाङ–हो र निप्पन दर्शनको चर्चा नहुनु भनेको ज्ञानलाई आफ्नै पेरिफेरी र आग्रहमा खुम्च्याउनु मात्र हुन जान्छ । आस्था जब धार्मिक राजनीतिमा फेरिन्छ, तब दर्शनलाई पनि घालमेल बनाउने आग्रहका खेलहरू सुरु हुन्छन् ।
बिट मार्दैगर्दा
भौगोलिक दूरीले ज्ञानको आदानप्रदानमा अवरोध पुर्याउँदा सुरुवाती दिनमा सोच्ने तरिका भूगोल अनुसार फरक पर्दै गए । त्यही ज्ञानको भोक र सोच्ने शैली नै पछि गएर ’दर्शन’ बनेर देखा पर्यो । तर कालान्तरमा, शक्तिको वर्चस्वको खेलले आफ्नो भाषा, धर्म र दर्शनलाई मात्र श्रेष्ठ भन्न थाल्यो । उपनिवेश विस्तारसँगै आफूलाई सभ्य र अरूलाई असभ्य देखाएर ’सभ्य बनाउने जिम्मेवारी’ (ध्जष्तझबलुक द्यगचमभल) को झुटो भाष्य निर्माण गरियो । आज हामीले सुन्ने गरेका ‘पूर्वीय’ वा ’पश्चिमी’ जस्ता विभाजित दार्शनिक पदावलीहरू पनि वास्तवमा त्यही शक्तिको राजनीतिले उनेका संकुचित घेराहरू मात्र हुन् ।
दर्शन कुनै स्थिर पोखरी होइन, यो त निरन्तर बगिरहने नदी हो । हामीले दर्शनलाई वैदिक घेरा, भारतीय सिमाना वा पश्चिमा तर्कशास्त्रको चौघेरामा मात्र कैद गर्नु हुँदैन । नेपालको हिमालय र तराईबाट उठेको चिन्तनदेखि एन्डिज पर्वतमालाका इन्का सभ्यताका सुस्केराहरूसम्म सबै मानव जातिको साझा विरासत हुन् । विद्वान प्रवचकको ज्ञानको सीमितता र एउटै धाराको महिमामण्डनले दर्शनको मर्म बुझ्न सकिँदैन । ज्ञानलाई आग्रहको साँगुरो घेराबाट मुक्त गरी विश्व–दृष्टिकोणका रूपमा बुझ्नु नै दर्शनका विद्यार्थीहरूको आजको आवश्यकता हो । दर्शनको क्षितिज संकुचित व्याख्याको घेराभन्दा माथि उठ्नै पर्छ ।





























