- रुसी सेनामा ५३१ जना नेपाली युवा रहेको तथ्यांक सार्वजनिक गरिएको छ । जसमध्ये १६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते रहेको दाबी गरिएको छ । रुसी सेनामा रहेका नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले शनिबार तथ्यांक सार्वजनिक गरेको हो ।
- लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादव सांसद पदबाट निलम्बन भएका छन् । यादवविरुद्ध भ्रष्टाचार मुद्दा परेपछि प्रदेशसभाले उनलाई सांसद पदबाट निलम्बन गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसमेतलाई विपक्षी बनाई भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा हालेको छ । वन पैदावारको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप यादवमाथि छ ।
- लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) फरार भएका छन् । ३२ वर्ष पहिला रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला गरेपछि उनी फरार थिए । कैद भुक्तानी नगरेका उनलाई प्रहरीले पक्राउका लागि खोजी सुरु गरेपछि उनी फरार भएका हुन् ।
- सर्वोच्च अदालतको परमादेशविपरीत फागुन १ गते बिदा दिएर अदालतको अवहेलना गरेको भन्दै द्वन्द्वपीडित सर्वोच्च अदालत पुगेका छन् । संघीय सरकारले २०७९ माघमा गरेको ‘जनयुद्ध दिवस’मा बिदा दिने निर्णय गत पुस १३ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले जितेको कतिपय स्थानीय तहले सर्वोच्चको आदेश विपरीत फागुन १ गते ‘जनयुद्ध दिवस’को बिदा दिएका थिए ।
- काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले आज सार्वजनिक गरेको छ । शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका–१ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । आफ्नो सन्तान नहुने भएकाले शिशु चोरी गरेको उनले बताएकी छिन् ।
- लघुवित्त, मिटरब्याज र सहकारीपीडितले सरकारले न्याय नदिएसम्म घर नर्फकने जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् । मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत तीन वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताएका छन् ।
- नेपाल टेलिकमले ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपालभित्र सञ्चालनमा रहेका ३४ वटा विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच हिजो निःशुल्क इन्टरनेट सेवाबारे सहमति भएको हो ।
- र, नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले धमाधम कर बुझाउन थालेका छन् । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्स लगायत १३ वटा बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थालेका हुन् ।
देशमा आजः लुम्बिनीका सांसद् यादव निलम्बित, जनयुद्ध दिवसमा बिदा दिएका पालिकाविरुद्ध द्वन्द्वपीडित
