बाँकेका चार क्याम्पसमा स्ववियु निर्वाचनको चहलपहल सुरु भएको छ । विद्यार्थी, विद्यार्थी नेतादेखि राजनीतिक दलका जिल्ला स्थित नेतृत्वले समेत चासो दिइरहेको स्ववियु निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आन्तरिक छलफलमा विद्यार्थी नेताहरू रहेको पाइन्छ ।
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस, नर्सिङ्ग क्याम्पस, खजुराको ज्ञानोदय र राप्तीसोनारीको सिद्धेश्वरीमा स्ववियु निर्वाचन हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको प्रक्रिया सुरु गरेपछि जिल्लाका क्याम्पसमा त्यसको चहलपहल बढेको हो ।
फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।
अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले विद्यार्थी संगठन निर्वाचनका लागि सक्रिय रहेको बताएका छन् । ‘स्ववियु निर्वाचनको चहलपहल क्याम्पसमा देखिएको छ’, महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी मो। मुबसीर कैयुम हलवाईले भने ।
महेन्द्र बहुमुखी क्याम्पसका निर्वाचन संयोजक किरण राज रेग्मीका अनुसार, क्याम्पसमा निर्वाचनमा भाग लिनका लागि १५ वटा विद्यार्थी संगठन दर्ता भएका छन् ।
यस पटक चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको अनुगमन राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार काउन्सिल र नेपाल पत्रकार महासङ्घबाट हुने भएको छ ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन स्वतन्त्र निकायलाई पर्यवेक्षण गराउन लागिएको त्रिविले जनाएको छ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले निर्वाचनसम्बन्धी निर्देशिका–२०८१ बनाएर तीन वटा निकायका एक एक जना सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन पर्यवेक्षण समिति बनाउने उल्लेख गरेको छ । हरेक जिल्लामा पर्यवेक्षण समिति रहने त्रिविले जनाएको छ ।
त्यसबाहेक त्रिविमा शिक्षाध्यक्षको संयोजकत्वमा १४ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति रहने छ ।
सरकारी तथा सरकारी स्वामित्वमा रहेका कार्यालयमा रोजगारीमा रहेका व्यक्तिलाई स्ववियु निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था पनि निर्देशिकाले गरेको छ ।
स्ववियु निर्वाचन–२०८१ निर्देशिकाले विद्यार्थी संख्याका आधारमा क्याम्पसमा निर्वाचन समिति पनि फरक फरक हुने उल्लेख गरेको छ । जस अनुसार दुई सय जनासम्म विद्यार्थी भएको क्याम्पसमा पाँच सदस्यीय निर्वाचन समिति, २०१ देखि एक हजार जनासम्म विद्यार्थी भएमा सात सदस्यीय, १,००१ देखि तीन हजार जनासम्म विद्यार्थी भएमा नौ सदस्यीय, ३,००१ देखि पाँच हजार जनासम्म विद्यार्थी भएमा ११ सदस्यीय र ५,०००१ देखि माथि विद्यार्थी भएको क्याम्पसमा १३ सदस्यीय निर्वाचन समिति हुने निर्देशिकामा उल्लेख छ ।
निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीबाट हुने छ । स्ववियु निर्वाचन कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । आगामी चैत ५ गते ठिक दुई वर्ष पुग्छ । कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्ने निर्णय त्रिविले गरेको हो ।
प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालपछि एकै पटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला १२ वटा आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । त्रिवि अन्तर्गत ६२ वटा आङ्गिक र १,०६० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।