नेपालगन्ज उपमहानगरपालिकाको आधारभूत तह परीक्षा (बिएलई) नतिजा प्रकाशित भएको छ ।
शुक्रबार प्रकाशित नतिजा अनुसार, ८८.०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले नतिजामा उल्लेख्य सुधार आएको जानकारी दिए । शिक्षा महाशाखाका लोकेन्द्र शाहीले ३ हजार १ सय १८ परीक्षार्थी सहभागी भएकोमा २ हजार ७ सय ८ विद्यार्थी उत्तीर्ण भएको जानकारी
दिए । उनका अनुसार, संस्थागत तर्फ सबैभन्दा बढी १ हजार ६ सय ६१ परीक्षार्थी मध्ये ९८.९८ प्रतिशत अर्थात् १ हजार ६ सय ४४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, सामुदायिक तर्फ ७१.३६ प्रतिशत १ हजार ६४ विद्यार्थी उत्तीर्ण भएका छन् । गत बर्ष ५६.४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि नेपालगन्ज उपमहानगरपालिकाले नतिजा सुधारमा योजनाबद्ध काम गरेको शाहीको भनाइ छ । ‘तोकिएको पाठ्यक्रम र विद्यार्थीको स्तर अनुसार योजनाबद्ध विद्यालयहरूलाई अध्यापन गराउन भनिएको छ’, शाहीले दैनिक नेपालगन्जसँग भने, ‘सुधार गर्न दण्ड र पुरस्कारको व्यवस्थासँगै पालिकाबाट अनुगमन, मूल्यांकन, समन्वय र सहजीकरण भैरहेकाले नतिजा सुधार सम्भव भयो ।’