नेपालगन्जमा ‘जिल्लास्तरीय नागरिक सम्मेलन’ गरिएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा सोमबार नेपालगन्जमा बाँके जिल्ला स्तरिय तेश्रो नागरिक सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलन उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य सुर्य ढकालले नेपालका हरेक परिवर्तनमा नागरिक समाजको भुमिका महत्वपूर्ण रहेको बताए । सांसद ढकालले समाज रूपान्तरणका लागि हरेक क्षेत्रमा नागरिक समान अग्रपंतिमा रहने गरेको बताए ।
नागरिक समाजका संस्थाहरूको चुनौति तथा नागरिक स्वतन्त्रताको विषयगत छलफल गरिएको सम्मेलनमा सांसद ढकालले बहुदलिय व्यवस्था देखि देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने कार्यमा नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताए । ‘तीनै तहका सरकारहरूले नागरिकका आवाजहरूलाई संवेदनशील रूपमा लिनुपर्छ,’ सांसद ढकालले भने, ‘नागरिक सम्मेलनमा उठान भएका विषयलाइ सम्बोधन गर्न मेरो तर्फबाट गर्न सकिने पहल हुन्छ ।’ नागरिक समाजलाई साझेदारीको रूपमा सरकारले लिनुपर्नेमा सांसद ढकालको जोड थियो ।
नागरिक सम्मेलनमा गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीले साझेदारी, पहरेदारी र खबरदारीका लागि नागरिक संघसंस्थाहरूले सदैव तटस्थ रूपमा भूमिका खेल्दै आएको बताए । समाज रूपान्तरणका लागि नागरिक समाजले खेलेको भुमिकालाइ स्मरण गराउँदै सुवेदीले सरकारपक्ष स्वेच्छाचारी बन्दै गएको र नागरिक आवाजलाई वेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण गरााएका थिए ।
नागरिक सम्मेलनमा गैसस महासंघ नेपाका केन्द्रीय सदस्य नमस्कार शाहले परिवर्तित अवस्थामा नागरिक समाजको भुमिका, अवस्था, समस्या र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर कार्की, गैसस महासंघ नेपाल बाँकेका पुर्व अध्यक्षहरू पुर्णलाल चुके, तेजविक्रम शाह र प्रभात कुमार ठकुरी, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, राष्ट्रीय मानव अधिकार आयोग लुम्बिनी प्रदेश संयोजक द्वारीका अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रश्रृषी चौलागाई, इन्सेकका प्रदेश संयोजक भोला महत, गैसस महासंघ नेपाल बाँकेका सल्लाहकार वसन्त गौतम लगायतले नागरिक समाजको भूमिकाको विषयमा बोलेका थिए ।
गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको सम्मेलन शाखा सचिब रमेश सिटौलाले सञ्चालन गरेका थिए । गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारीले स्वागत गरेको सम्मेलनमा १५० बढी नागरिक समाजका ब्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
यसैबीच, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीलाई सोही कार्यक्रममा सम्मान गरिएको थियो ।