छ बर्षदेखि अनिश्चित नेपालगन्ज गोल्डकपका लागि आयोजक बाँके जिल्ला फुटबल संघ अग्रसर देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आयोजनाको अभिभावकत्वका लागि प्रतिबद्ध देखिएपछि संघ नेपालगन्ज गोल्डकपको निरन्तरताका लागि अग्रसर देखिएको हो ।
झण्डै एक करोड लागत सुनिश्चितता अभाव, सरकारी सहयोगमा उदासिनता र तत्कालीन अवस्थामा खेलकुद मैदानकै झमेलाले रोकिएको नेपालगन्ज गोल्डकपको चौथो संस्करण हुनसकेको छैन । ‘तपाई चैत्र भित्रै नेपालगन्ज गोल्डकप आयोजनाको सम्पूर्ण प्रस्तावना लिएर छलफलमा आउनुस्’, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीसँग नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भने, ‘गोल्डकपको निरन्तरतामा स्थानीय सरकार प्रतिबद्ध छ ।’
एन्फा केन्द्रीय सदस्य समेत रहेका शाहीसँग नगर प्रमुख विष्टले गोल्डकप आयोजनासँगै नेपालगन्जमा ‘टिम बिल्डिङ्ग’का लागि खेलाडी उत्पादन र निरन्तर प्रशिक्षणमा जोड दिए । ‘त्यसका लागि केन्द्र सरकारले राखेप मार्फत नियमित क्यालेन्डर नै बनाउनु पर्ने नगर प्रमुख विष्टको जोड थियो । बुधबार नगर प्रमुख विष्ट र एन्फा केन्द्रीय सदस्य समेत रहेका बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाही बीच नेपालगन्ज गोल्डकपलाई लिएर चर्चा भएको हो । ‘गोल्डकपको चौथो संस्करणका लागि आवश्यक तयारी सुक्ष्म रूपमा अगाडि बढिरहँदा नगरप्रमुख विष्टको प्रतिबद्धताले हामी थप उत्साहित भएका छौं’, अध्यक्ष शाहीले यसअघि पनि नेपालगन्ज उपमहानगरपालिकासँग गोल्डकपको निरन्तरताबारे विभिन्न छलफल, बहस भएको र त्यसैको निष्कर्ष स्वरूप नगर प्रमुखको प्रतिबद्धता आएको जानकारी दिंदै भने, ‘स्पोन्सरका लागि राजधानी काठमाडौं पुगेर पहलकदमी पनि गरिएको छ ।’
२०७३ बैशाखमा यति नेपालगन्ज गोल्डकपका नाममा बाँकेकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अध्यक्ष शाहीकै नेतृत्वमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको थियो । त्यसैबर्षको अन्तिममा दोस्रो गोल्डकप आयोजना गरेको संघले २०७५ जेठमा नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण आयोजना गर्न निकै पापड बेल्नुपर्यो । खासगरी आठौं राष्ट्रिय खेलकुदको आयोजनाका लागि नेपालगन्ज रंगशालामा पूर्वाधार निर्माण कार्य अगाडि बढेपछि खजुरा पुगेर डाँफे खेल मैदानमा नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण गर्नुपरेपछि आयोजक बाँके जिल्ला फुटबल संघ निरुत्साहित भयो ।
‘अनुमानित खर्च बढेर दोब्बर भयो, नेपालगन्जको स्तरीय मैदान रोजेर आएका राष्ट्रिय स्तरका खेलाडीहरू गाउँले मैदानमा खेल्नुपर्दा उत्साहित भएनन्’, त्यसपछि उठ्नै नसक्ने गरी निहुरिएको नेपालगन्ज गोल्डकपको टाउको अहिले आएर नेपालगन्ज उपमहानगरपालिकाको अभिभावकत्वमा जुर्मुराएको तर्क संघका पदाधिकारीको छ । उनीहरू भन्छन्, ‘कोहलपुर गोल्डकपका लागि कोहलपुर नगरपालिकाले २५–२६ लाखको योगदान गर्न सक्छ भने नेपालगन्जले ५० लाख लगानी गर्न तत्पर हुनुपर्छ ।’
तर, संघका अध्यक्ष शाही भने आर्थिक सहयोग वा साझेदारी भन्दा पनि अभिभावकत्वका साथ आयोजकको उच्च मनोबल बनाइदिने स्थानीय सरकारले खेलकुदका लागि ठूलो योगदान दिनसक्ने बताउँछन् । ‘हामी यसपटक नेपालगन्जका नगर प्रमुखको प्रतिबद्धताबाट उत्साहित छौं, आकर्षक फुटबल मैदान ए डिभिजनका खेलाडीको खेल पर्खिरहेको छ’, अध्यक्ष शाहीले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘सबैले साथ, सहयोग र यसैगरी हातेमालो गरिदिनुभयो भने २०८२ देखि बर्षेनी नेपालगन्ज गोल्डकपले निरन्तरता पाउँछ ।’
नगर प्रमुख विष्टले नेपालगन्जलाई खेल पूर्वाधारले समृद्ध बनाएजस्तै खेल आयोजनाले पनि समृद्ध बनाउँदै जाने विष्टले बताए । ‘त्यसका लागि नेपालगन्ज गोल्डकप जस्ता ठूला आयोजनाहरूलाई निरन्तरता दिने र खेलाडी उत्पादनका प्रशिक्षण तथा नियमित प्रतियोगिताहरूलाई स्थानीय सरकारले प्रोत्साहन गर्ने नीति अघि सारिनेछ’, विष्टले दैनिक नेपालगन्जसँग भने ।