वि.सं. २०७८ मा भएको जनगणनाको आन्तरिक बसाईसराईको तथ्यांक गत २०८१ चैत्र १३ गते सार्वजनिक भएको छ ।
राष्ट्रिय जनगणना, २०७८ ले हालसम्मको आन्तरिक बसाइँसराइको दर अर्थात् नेपालभित्र आफ्नो जन्मस्थान छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अ अनुसार, सबैभन्दा बढी हालसम्मको आन्तरिक बसाइँसराइ गर्ने अर्थात् जन्मस्थान छोड्ने जनसङ्ख्या पहाडमा देखिएको छ जहाँबाट ३२ प्रतिशत मानिसहरू सरेको देखिएको छ । यसपछि तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत सरको देखिएको छ ।
आन्तरिक बसाइँसराइ गर्ने अत्यधिक ३७.६ प्रतिशत महिला छन् र पुरूषको सो दर २०.६ प्रतिशत रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अ अनुसार, तराईमा बसाइँ सर्ने सङ्ख्या सबैभन्दा बढी अर्थात् वि.स.२०२८ मा ४ लाख १० हजार ०६४ बाट वि.सं.२०७८ मा २० लाख ८४ हजार ५ सय ५ जना सरेको देखिएको छ । यद्यपि, कुल जनसङ्ख्याको तुलनामा प्रतिशतमा भने कमी आएको छ ।
हिमाली क्षेत्रमा बसाइँ सरी जाने वि.सं. २०२८ मा ९,६९८ (२.२५) र २०७८ मा ७५,५४२ देखिएको छ । तर, त्यो क्षेत्रबाट अन्यत्र सरी जाने सङ्ख्या अत्यधिक देखिएकोले खुद बसाइँसराइ ५,४३,९६६ ले ऋणात्मक देखिएको छ । यसरी हिमाली क्षेत्रमा बसाइँ सरी आउनेभन्दा त्यस क्षेत्रबाट अन्यत्र सरेर जाने अधिक छ । पहाडी क्षेत्रमा वि.सं. २०२८ मा ६ प्रतिशतले बसाइँसराइ गरेको देखिएकोमा २०७८ मा ३० प्रतिशत देखिएको छ जुन अङ्क वास्तवमा पहाडी क्षेत्रको काठमाडौँ, पोखरा र चितवनमा सरी जानेका सङ्ख्याले प्रभावित भएको हो ।
‘हिमाली क्षेत्रमा जनसङ्ख्या पातलिँदै गएको र पहाडी क्षेत्रमा पनि विशेषतः काठमाण्डौँ उपत्यका, चितवन, पोखरा लगायतका मुख्य सहरहरूबाहेक अन्यत्र जनसङ्ख्या तीब्र रूपले कमी आएको र तराईतिर झर्ने क्रममा वृद्धि भएको देखिएको छ’, तथ्यांक कार्यालयले भनेको छ, ‘यद्यपि, पछिल्लो गणनाले तराईमा बसाइँ सर्ने प्रवृत्तिमा कमी आएको छ । वस्तुतः पहाडी क्षेत्रमा यातायातको पहुँच वृद्धि भए पनि नजिकको अर्धसहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो छ र तराईबाट पनि काठमाडौँ, पोखरा लगायतका सहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो गतिमा छ ।’ प्रदेश अनुसारको आन्तरिक बसाइँसराइको आयतनलाई अध्ययन गर्दा वि.सं. २०७८ मा कुल २१ लाख ४२ हजार ३ सय ६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँसराइ गरको े देखिएको छ । यसमा महिला ११ लाख ५४ हजार ९ सय ९ र पुरूष ९ लाख ८७ हजार ४ सय ५४ रहेका छन् ।
तथ्यांक कार्यालयका अनुसार, अन्तरजिल्ला बसाइँसराइको तथ्याङ्क विश्लेषण गर्दा २०७८ मा मूलथलोका २० प्रतिशतले स्थायी आन्तरिक बसाइँसराइ गरेको देखिएको छ । वि.सं. २०१८ मा यो मान ४.७ प्रतिशत मात्रै थियो । देशका ७७ वटै जिल्लाको तुलनात्मक विश्लेषण गर्दा १८ वटा जिल्लाहरूले आफ्नो जिल्लामा जन्मिएका २० प्रतिशत
जनसङ्ख्या गुमाएको देखिन्छ । कुनै पनि जिल्लाबाट बाहिर बसाइँसराइ नगरेको भन्ने स्थिति छैन । तर, बाँके सहित १२ जिल्ला वटा दश प्रतिशतभन्दा कम अन्यत्र जिल्लामा बसाइँसराइ गरी गएका भेटिन्छन् ।
तथ्यांक कार्यालयका अनुसार, आन्तरिक बसाइँसराइको प्रवृत्ति अध्ययन गर्दा आफ्नो जन्म जिल्ला छोडी अर्को जिल्लामा बसाइँ सरेपछि त्यसपछि पनि फेरि अर्को जिल्लामा सरी जाने प्रवृत्ति पनि हुन्छ । यसअघिको बसोबास जन्मस्थान भएकै जिल्ला वा फरक जिल्ला जे भए तापनि कुनै व्यक्तिले त्यहाँबाट हाल अक्सर बसोबास भएको स्थानमा बसाइँसराइ गरेको रहेछ भने त्यसलाई पनि पछिल्लो बसाइँसराइ मानिएको छ । यसरी पछिल्ला पटक उपस्थिति रहेको जिल्लामा बसाइँ सर्नेको सङ्ख्या वि.सं. २०७८ मा ८२,३९,५८९ अर्थात् कुल जनसङ्ख्याको २९.२ प्रतिशत रहेको छ ।
महिलाको पछिल्लो बसाइँसराइदर ३८.२ प्रतिशत र पुरूषको १९.९ प्रतिशत रहेको छ । यसरी पछिल्लोपटकको बसाइँसराइदर पहाडी क्षेत्रमा ३१.९ प्रतिशत र हिमाली क्षेत्रमा १३.५ प्रतिशत रहेको छ । यस्तै नगरपालिकाहरूमा ३५.५ प्रतिशत र गाउँपालिकाहरूमा १७.१ प्रतिशत रहेको छ । पछिल्लोपटक बसाइँसराइ भएकाहरू बागमती प्रदेशमा सबैभन्दा बढी ४३.५ प्रतिशत, गण्डकी प्रदेशमा ३३.१ प्रतिशत र कर्णाली प्रदेशमा १४.५ प्रतिशत रहेका छन् ।
अन्तर भौगोलिक—क्षेत्रको पछिल्लो बसाइँसराइको विश्लेषणअनुसार पहाडी क्षेत्रबाट ३ लाख ७० हजार जना बाहिर अर्थात् अन्यत्र जिल्लामा गएका देखिन्छन् । अन्यत्रबाट आएका (क्ष्ल(mष्नचबतष्यल) को सङ्ख्या चाहिँ ३७.९ प्रतिशत अर्थात् दुई लाख छपन्न हजार देखिन्छ ।
यसअनुसार पहाडी क्षेत्रले करिब १,१४,००० जना गुमाएको देखिन्छ । यस्तै, तराई क्षेत्रका जिल्लाहरूमा यसप्रकृतिको खुद बसाइँसराइ ५९ प्रतिशत देखिन्छ अर्थात् तराईले अन्य दुई भौगोलिक क्षेत्रबाट खुद दुई लाख पच्चिस हजार प्राप्त गरेको देखिन्छ । यस्तो प्रवृत्तिको बसाइँसराइमा तराईबाट पहाड र उच्च पहाडतिरको धार उल्लेखनीय रहेको देखिन्छ । निसन्देह, सो बसाइँसराइको धार पहाडी क्षेत्रको काठमाडौँ उपत्यकालक्षित देखिन्छ ।
यस्तो छ, बसाइँसराइको कारण
वि.सं. २०७८ को जनगणनाले इङ्गित गरेअनुसार बसाइँ सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहको कारणले गर्दा बसाइँसराइ भएका, १९.२ प्रतिशत कामको अवसरका कारण र १४.१ प्रतिशत अध्ययन÷तालिमका कारणले सरेका देखिन्छन् ।
तराईमा बसाइँ सरेकामध्ये ३१.३ प्रतिशत विवाह र २६.७ प्रतिशत आश्रित भएर गएको देखिन्छ । प्रदेशगत रूपमा विश्लेषण गर्दा बागमती र गण्डकीमा कामको अवसर प्रमुख कारण छन् भने बाँकी पाँच प्रदेशहरूमा विवाह नै प्रमुख कारण रहेको छ । वास्तवमा बसाइँसराइको कारण उमेर समूहअनुसार निकै नै भिन्न छन् ।
चार वर्षभन्दा मुनिका र ७५ वर्षभन्दा माथिका व्यक्ति आश्रित भएकोले परिवारसँग बसाइँ सरेका छन् भने २०–२४ वर्षका महिलाहरू विवाहको कारणले र ३५–३९ वर्ष उमेर समूहमा अधिकतम कामको कारणले सरेको देखिएको छ । कम आम्दानी भएका वा विपन्न समूहले विवाह र आश्रित हुनु (क्रमशः ५५.९% र १७.३%) प्रमुख कारण बताएका छन् जबकि आय समूह बढेअनुसार क्रमशः अध्ययन÷तालिम र कामको अवसर (क्रमशः २०.२% र २२.९%) प्रमुख कारण बताइएका छन् ।