नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

जागिर लगाइदिने नाममा सोझा मानिसहरूलाई ठग्ने काम अझै रोकिएको छैन भन्ने तथ्य फेला परेको छ।

नेपाल प्रहरीको विभिन्न पदमा भर्ना गरिदिन्छु भन्दै प्रलोभन देखाएर पैसा असुल्ने एक जना व्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिएपछि उक्त तथ्य स्पष्ट भएको हो ।

बाँके प्रहरीका अनुसार, पक्राउ पर्ने व्यक्ति सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १, गुराँसे बस्ने ३० वर्षका लक्ष्मण बि.क. हुन्। उनले विभिन्न व्यक्तिहरूलाई प्रहरीको परीक्षामा पास गराइदिने र जागिर पक्का गरिदिने भन्दै पटक-पटक रकम मागेर ठगी गरिरहेका थिए।

त्यो कुराको सुइँको पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई गएको वैशाख ३१ गते पक्राउ गरेको हो।

आरोपीलाई जिल्ला अदालत बाँकेबाट ठगी मुद्दामा पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार, उनीमाथि अहिले थप अनुसन्धान भइरहेको छ।

प्रहरीले भनेको छ, कसैले पैसाको भरमा प्रहरीमा जागिर लगाइदिन्छु भन्यो भने त्यस्तो भ्रममा कहिल्यै नपर्नू र तुरुन्तै प्रहरीलाई खबर गर्नू।

Exit mobile version