प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सडकहरू प्रभावित भएको विषयमा ध्यानाकर्षण गराइएको छ ।
सभाको आकस्मिक समयमा सांसद बलावती शर्माले बागलुङका विद्यालय र घरका छानाहरू हावाहुरीले उडाउनका साथै कृषिबालीमा समेत प्रभाव परेकाले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सांसद सोम शर्माले विपद् जोखिम व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्र गर्दै ग्रामीण क्षेत्रका कच्ची घरहरूमा जस्तापाता लगाइदिन आग्रह गर्नुभयो ।
सांसद सन्दीप रानाले विषादी च्याउ खाएर मानिसको मृत्यु भएको दृष्टान्त पेस गर्दै खान मिल्ने र विषादी च्याउ वर्गीकृत हुने प्रणाली विकास गर्न अनुरोध गर्नुभयो ।
सांसद गोविन्द पन्थीले हावाहुरीका कारण गुल्मीको मालिका गाउँपालिका बढी प्रभावित भएकाले मूल्याङ्कन गरेर राहत तथा क्षतिपूर्ति दिन आग्रह गर्नुभयो ।
सांसद भूमिका लिम्बू सुब्बाले मध्यपहाडी (पुष्पलाल) लोकमार्गका केही सडकखण्ड अवरूद्ध भएको तथा पहिरोका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सांसद आशिष गजुरेलले बिपी राजमार्गका विभिन्न ठाउँमा वर्षा एवं बाढीका कारण बालबालिकाको ज्यान जान थालेकामा चिन्ता गर्दै विपद् व्यवस्थापनमा पूर्वसचेतना कार्य प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
सांसद नरेन्द्रकुमार केरूङले बेमौसमी मनसुनका कारण मध्यपहाडी (पुष्पलाल) लोकमार्गको फलैचाँ (दोभाने) लगायत क्षेत्रमा क्षति भएको उल्लेख गर्दै क्षतिको एकिन गरी निर्माण कार्य सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
सांसद क्षितिज थेबेले गत जेठ ८ गतेको भीषण पानीले ताप्लेजुङ र पाँचथरमा विपद्जन्य घटनाका कारण प्रभावित जनतालाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।
सांसद रामविनोद यादवले स्वास्थ्यकर्मीको लापर्वाहीका कारण धनुषामा उपचारका क्रममा एक गर्भवतीको निधन भएकामा दुःख व्यक्त गर्दै यस्ता घटना नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुशान्त वैदिकले प्युठान, रोल्पा र अर्घाखाँची जिल्लामा केही दिनदेखि विजुली बन्द भएकाले तत्काल ध्यान दिन आग्रह गर्नुभयो ।
सांसद रेखाकुमारी यादवले सर्वाेच्च अदालतको फैसलाविपरीत महोत्तरी जिल्लास्थित गौशलाको ३४ घरधुरी भत्काउन खोजिएकामा आपत्ति व्यक्त गर्नुभयो ।
सांसद शम्भुप्रसाद ढकालले झापामा वर्षाका कारण बिजुली प्रभावित भएको र केराखेतीमा नोक्सानी भएकाले राहत दिन माग गर्नुभयो ।
सांसद प्रेमबहादुर बयकले हालै आएको वर्षा र पहिरोका कारण अछामको रामारोशनमा दुई सय भेडाको क्षति भएको जानकारी दिँदै यसबाट पीडित किसानलाई राहत उपलब्ध गराउन अनुरोध गर्नुभयो ।
