नेपालगन्ज स्थित फत्तेबाल आँखा अस्पतालमा दुई बर्षको अवधीमा दुई सय बढीको आँखाको नानी प्रत्यारोपण गरिएको छ ।
अस्पतालमा शनिबार आयोजित नेपाल नेत्र ज्योति संघ बाँके शाखाको ३१ औं जिल्ला सभामा आँखा उपचारमा फत्तेबाल आँखा अस्पतालले पुर्याएको योगदानबारे जानकारी दिंदै कार्निया विभागका डा. प्रविन राईले दुई सय बढीको दृष्टिको समस्या समाधान गरेको जानकारी दिएका हुन् । उनले नानी प्रत्यारोपरण अघि डोनर, आँखाको नानी भण्डारण जिल्लामा समस्या रहेको उल्लेख गर्दै काठमाडौंबाट आँखाको नानी ल्याएर फत्तेबाल आँखा अस्पतालमा २ सय बढीलाई दृष्टि प्रदान गर्न सफल भएको बताएका थिए । ‘डा. राजशी श्रेष्ठको नेतृत्वमा रहेको कर्निया विभागले सफलतापूर्वक रेटिनाको सर्जरी गरिरहेको छ’, डा. राईले भने ।
नेपाल नेत्र ज्योति संघ बाँकेका अध्यक्ष रतन टण्डनको अध्यक्षमा भएको कार्यक्रममा फत्तेबाल आँखा अस्पतालका विभागीय प्रमुखहरुले आँखामा देखिने समस्या, उपचार र चुनौतिबारे आफ्नो प्रस्तुति राखेका थिए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रस्तुत नेपाल नेत्र ज्योति संघका सचिव शान्ति श्रेष्ठको बार्षिक प्रतिवेदनमा आ.व. २०८०।०८१ मा अस्पतालमा १ लाख १ हजार ४५ सामुदायिक आँखा उपचार केन्द्रहरुमा ११ हजार ९ सय ४८ र बाह्य कार्यक्रममा २० हजार ३ सय ४५ गरी जम्मा १ लाख ३३ हजार ३ सय ३८ जनाको आँखा परीक्षण गरी उपचार गरिएको र शल्यक्रिया तर्फ अस्पतालमा ८ हजार ६ सय १२ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको छ ।
चालु आ.व. २०८१।०८२ फागुन मसान्तसम्म अस्पतालमा ६८ हजार ३ सय १५ सामुदायिक आँखा उपचार केन्दहरुमा ७ हजार ७६ र बाह्य कार्यक्रममा १६ हजार ५ सय ४१ गरी जम्मा ९१ हजार ९ सय ३२ जनाको आँखा परीक्षण गरी उपचार गरिएको र शल्यक्रिया तर्फ अस्पतालमा ७ सय ३ सय ५१ र शल्यक्रिया शिविरमा १ सय ७६ गरी जम्मा ७ हजार ५२७ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको फत्तेबालको तथ्यांक रहेको छ ।