सन्ध्या गैरे
केही समय यता नेपालगन्जस्थित सुर्खेतरोड रंगीबिरंगी फुलका कारण ‘भाइरल रोड’ भनेर चर्चामा चुलिएको छ । आए दिन होस् वा रात विभिन्न ठाउँबाट मानिसहरू फोटो र भिडियो बनाउन पुग्ने गरेका छन् । सामाजिक सञ्जाल ‘भाइरल रोड’का फुलमा लिइएको भिडियो, फोटोको टिकटक र रिल प्रशस्त देख्न सकिन्छ । सय मिटर रोडको डिभाइडर ग्रीनबेल्टमा ढकमक्क फुलेका हावाको बेगमा झुलेका बगम्बेलीका फुलहरूमा फोटोले पछिल्ला दिन नेपालगन्जबासी मात्रै होइन बाहिरबाट नेपालगन्ज आउनेहरूलाई पनि लोभ्याइरहेको पाइन्छ ।
यसले दर्शाउँछ कि मानिसहरूलाई रमाउन केही ठूलो चमत्कारी जादुई छडीको आवश्यकता छैन । खुसी यहाँका साना साना कुरामा छ हामीले बस खुसी खोज्न अपनाउन र त्यसलाई कसरी लामो समयसम्म आफूसँगै टिकाउने भन्ने कुरामा ध्यान दिन जान्नुपर्छ । भाइरल रोडमा गएर रमाउने फोटो खिच्ने कार्य भैरहँदा त्यसको संरक्षणमा कतिले चासो दिए त ?
विभिन्न सामाजिक सञ्जाल मिडिया र अन्य प्लेटफर्ममा हामीले देख्यौ अथवा पढ्यौ त्यस भाइरल सडकको बारेमा । कसैले अभियान सुरु गर्नुभयो, कसैले वृक्षारोपण गर्नुभयो, कसैले संरक्षण गर्नुभयो । वास्तवमा आठ÷नौ वर्षअघि सडकको डिभाइडरमा ग्रीनबेल्टमा वृक्षारोपण कार्य सुरु भएको थियो । तर त्यसबेलाको रोपाई अहिले फुलेको हो त ? पक्कै होइन । त्यस समयदेखि आजसम्म आइपुग्दा कति फूल फुले, कति फुलेनन्, कति फुल्न नपाउँदै उखेलिए, कति फुल फुलेपछि चुडालिए ।
यसै सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिकाको वातावरण संरक्षण क्षेत्रमा आबद्ध कर्मचारी र विशेषत सडकका ग्रीन बेल्टमा लगाइएका फूलको संरक्षक गोडमेल, मलजल गर्ने माली र समयसमयमा पानी भरिएको ट्याङ्कर लिएर पुग्ने नगरपालिकामा कार्यरत कर्मचारीसँग दैनिक नेपालगन्जले केही कुराकानी गरेको छ जसले गाँठी कुरो के हो त भने खुलस्त गराउँछ ।
नगरपालिकाका माली धीरेन्द्रकुमार कोरीले भने, ‘हामीले विभिन्न समयमा बिहानदेखि साँझसम्म पानीको ट्याङ्कर लगेर हरेक ठाउँका फूलहरूलाई पानी प्रशस्तै पु¥याइरहेका छौं । दिनमा ४० देखि ५० लिटरसम्म पानी हामीले सधैँजसो सबै ग्रीन बेल्टका बोट बिरुवालाई दिने गर्दछौं। समयसमयमा गोडमेल गरिरहेका हुन्छौं ।’ बिरुवा काटछाँट गर्छौ मलजल गरिरहेको बताउने माली कोरीले आफूले हुर्काएको बिरुवामा मानिसहरूले रमाएको देख्दा, सहर राम्रो देखिँदा असाध्यै खुसी लाग्ने बताउँछन् ।
त्यसैगरी नगरपालिकाको अर्को कर्मचारी यही मलजलमा सहयोगी र पानीको ट्याङ्कर चालक देवीराम पुनले अहिलेको दुई क्षणको खुसीले कयौ वर्षको परिश्रमसँग मानिसहरू अनजान रहेको गुनासो गर्छन् । पूर्व नगर प्रमुख धवलशमशेर राणाको समयमा लगाइएका फूलहरूलाई निरन्तरता दिएर संरक्षण गरिरहेकोमा नगर प्रमुख प्रशान्त बिष्टले दिइरहेकोमा खुसी पनि व्यक्त गरे । नेपालगन्जको सुर्खेत रोडमा मात्र नभई थुप्रै ठाउँमा बोटबिरुवा लगाए तापनि यस क्षेत्रमा फलामे तारवार गेट लगाइएकाले सुरक्षित र संयमित रूपमा फूलहरू हुर्किएको र विशेषगरी बगम्बेली फूलको सिजन रहेकाले यो ठाउँ आकर्षणको केन्द्र रहेको उनी बताउँछन् ।
‘हामीले आफ्नो तर्फबाट मलजल गोडमेल काटछाट सबै गरेका छौं । यहाँ मात्र होइन राजादेखि जमुनाहा नाकासम्म नै यो वृक्षारोपण भएको र सबै ठाउँमा उत्तिकै प्रयास गरेका हौँ । तर यहाँका मानिसमा चेतनाको अभाव खुला चौपायाका कारण अन्य क्षेत्रमा फुल बिरुवा नहुर्केको साथै नगरप्रमुखको पहलमा तारवार गेटका कारण यस क्षेत्रमा फूल हुर्केर आकर्षित देखिएको हो’, पुनले भने ।
‘मानिसहरूमा चेतनाको अभाव अर्थात् फुलेका फूल चुँडाली दिने, लगायतका बोटबिरुवा निमोछेर लैजाने, फुल टिप्दा हाँँगासँगै उखालिदिने र विशेषगरी चाडपर्व आउँदा बागेश्वरीमा फूलका व्यापारीहरूले सडककै फूलहरू बिहान उज्यालो हुन नपाउँदै सखाप पारेर लैजाने गरेको पनि देख्यौ,’ उनले भने । ‘आफूले लैजानेसम्म त के भन्ने यहाँ त लगेर बेचे जस्ता कार्य पनि गरिरहेका छन्’, उनले भने ।
माली धीरेन्द्रकुमार कोरीले यसरी तारबार गरिएको हुनाले छाडा चौपायाहरू पस्न नपाउने रुखबिरुवा खान र नष्ट गर्न नपाउने, ठूला गाडीहरूले गर्दा हाँगा नमासिने, मान्छेहरूले सितिमिति आएर लैजान नपाउने भएकाले पनि सुर्खेत रोडको सय मिटरमा यिनी फुल बिरुवा सुरक्षित रहेको
बताउँछन् ।