पाँच बर्ष अघिदेखि आफुले उठाउँदै आएका माग सम्बोधन भएपछि होटल एशोसिएसन नेपाल (हान) बाँकेले वर्तमान बजेटप्रति खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद ज्ञापन गर्दछ । शुक्रबार हान बाँकेका अध्यक्ष दिवाकर शर्मा खनालको अध्यक्षतामा बसेको बैठकले बजेटले सम्बोधन गरेको व्यवस्थाहरु प्रति खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएको वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेले जानकारी दिए ।
‘२०७८ पुसमा प्रधानमन्त्री समेतलाई हाम्रा मागहरु बुझाएका थियौं’, सन् २०२० देखि निरन्तर उठाइरहेका मागलाई यसपटकको बजेटले सम्बोधन गरेको बजेटले जानकारी दिंदै न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘यस घोषणाले होटल व्यवसायीहरु उत्साहित भएका छन् ।’
नेपाल सरकारको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेटमा होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत महसुल छुट दिने घोषणा गरिएको छ ।
‘यस घोषणाले होटल व्यवसायीहरू उत्साहित भएका छन् र यसलाई उनीहरूले वर्षौंदेखि माग गर्दै आएको सुविधाका रूपमा लिएका छन् । यो सुविधा पर्यटन क्षेत्रको पुनरुत्थान र विकासका लागि महत्वपूर्ण मानिएको छ’, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक समेत रहेका न्यौपानेले भने ।
सरकारको यो पछिल्लो व्यवस्थाले होटल तथा रिसोर्टहरूले अब उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महसुलमा छुट पाउनेछन् ।
विद्युत नियमन आयोगले २०७३ साल भदौंमा तारे होटलहरूलाई गैर ग्राहस्थ श्रेणीमा राखी महसुल निर्धारण गरेपछि व्यवसायीहरू निराश भएका थिए । ‘त्यसपछिका सबैजसो मन्त्री, प्रधानमन्त्रीदेखि नेपालगन्ज विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेतसँग गुहार लगाउँदै आयौं’, न्यौपानेले नेपालगन्जबाट यो माग दबाबमूलक ढंगले निरन्तर सरकार समक्ष पुर्याइएको जानकारी दिंदै भने, ‘अन्य उद्योगहरूलाई निर्धारण गरे सरह नै होटल व्यवसायलाई पनि विद्युत महसुल निर्धारण गर्ने गरियोस् भन्ने हाम्रो मागलाई वर्तमान अर्थमन्त्रीले बजेट मार्फत सम्बोधन गरेकोमा देशभरका व्यवसायीहरू लाभान्वित भएका छन् ।’