भारतसँग जोडिएका बाँकेका विभिन्न नाका हुँदै कुखुरा तस्करी बढेको छ । यसले यहाँका किसान र पोल्ट्री व्यवसाय नै धराशयी हुने भन्दै व्यवसायीहरूले निगरानी सुरु गरेका छन् । ‘यस्तै अवस्था रह्यो भने करोडौं लगानीका उद्योग बन्द हुने अवस्थामा पुग्छन्’, व्यवसायी आफै नाकामा पुगेर अवैध तस्करी गर्नेहरूलाई निगरानी गर्ने र प्रहरी बोलाएर जिम्मा लगाउने गरेको जानकारी दिंदै कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलले भने । अध्यक्ष पोखरेलका अनुसार, अवैध तस्करी गर्नेहरूको पहिचान गरेर कारवाहीका लागि मञ्चले औपचारिक रूपमै किटानी जाहेरी पनि दिंदै आएको छ ।
भारतको उत्तर प्रदेशमा महाकुम्भ अवधीभर मांसाहारलाई पूर्णतः निषेध त्यहाँका कुखुरा व्यवसायीहरूले तयारी कुखुरा नेपाल पठाएका हुन् । कानुनतः जीवित कुखुरा नेपाल ल्याउन निषेध रहेकाले तस्करी मौलाएको सम्बद्ध व्यवसायीहरू बताउँछन् । ‘बकायदा तस्करहरूले सीमा क्षेत्रमा लाइन मिलाएर क्यारिङ्ग प्रयोग गरिरहेको देखिन्छ’, निगरानीका क्रममा अवैध तस्करलाई नै पक्राउ गरे बुझाउँदा समेत कारवाहीमा उदासिनता देखिएको गुनासो गर्दै नेपाली व्यवसायी भन्छन्, ‘प्रहरीले चाहने हो भने एकै दिनमा तस्करी नियन्त्रण गर्न सकिन्छ ।’
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले सीमा क्षेत्रबाट कुखुराको अवैध तस्करी भैरहेको सूचना प्राप्त भएपछि नियन्त्रणका लागि प्रहरीले काम गरिरहेको बताएका छन् । ‘हामीले धमाधम पक्राउ गरिरहेका छौं’, प्रहरी उपरीक्षक कार्कीले कतिपय व्यवसायीहरू नै यसखालको तस्करीमा संलग्न पाइएको जानकारी दिंदै भने, ‘कसैलाई पनि हामीले तस्करीका लागि छुट दिने सवाल नै आउँदैन ।’
खुला सीमानाको फाइदा उठाउँदै बर्दियाको बलई गाउँ फुटाहा नाकादेखि पूर्वी बाँकेको नरैनापुरसम्मका विभिन्न दर्जन बढी अवैध नाकाबाट तयारी कुखुरा तस्करी भैरहेको छ । खासगरी नेपालमा एक किलो कुखुरा तयार हुँदा २ सय २० रूपैयाँ सम्म लागत पर्ने भारतमा भने त्यही कुखुरा ९० रूपैयाँ तयार हुने भएकाले मूल्यको असमानताका कारण तस्करी मौलाएको हो । ‘कतिपय उद्योगहरूले नै पारीबाट तयारी कुखुरा ल्याएर आफ्नो फर्ममा राखेर दोब्बर मूल्यमा बेच्ने गरेका छन्’, व्यवसायी भन्छन्, ‘प्रहरीले गम्भीर अनुसन्धान गर्ने हो भने कतिपय ह्याचारीदेखि कुखुरा फर्मसम्मले भारतबाट तयारी कुखुरा ल्याएर बेच्ने गरेको फेला पार्न सकिन्छ ।’ व्यवसायीका यी कुरालाई मञ्चका अध्यक्ष पोखरेल पनि नकार्दैनन् । ‘त्यो रोक्ने दायित्व प्रहरी, प्रशासनको हो’, कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष पोखरेल भन्छन्, ‘प्रहरी, प्रशासनसँग हातेमालो गरेर हामीहरू अवैध तस्करी नियन्त्रणका लागि अगाडि बढ्न तयार छौं ।’
बाँकेमा ५ सय बढी साना ठूला कुखुरा व्यवसायीहरू रहेको तथ्यांक मञ्च सँग छ । एक सय बढी व्यवसायी मञ्चमा संगठित भैरहेको जानकारी दिंदै अध्यक्ष पोखरेलले पाँच सय करोडसम्म लगानी गरेका उद्योग, व्यवसाय यस क्षेत्रमा सञ्चालनमा रहेको बताए । ‘त्यसरी तयारी कुखुरा सीमापारीबाट आयो भने पनि यहाँका ह्याचारी, फिड इन्डष्ट्रिज, मेडिकलदेखि सिंगो व्यवसायिक च्यानल धराशयी हुन्छ’, पोखरेलले नियन्त्रणका लागि राज्य गम्भीर हुनुपर्ने टिप्पणी गर्दै दैनिक नेपालगन्जसँग भने ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कार्कीले अवैध तस्करी नियन्त्रणका लागि प्रहरीले व्यवसायीसँग हातेमालो गरिरहेको बताउँछन् । ‘सबैको सामूहिक प्रयास रह्यो भने तस्करी नियन्त्रण सम्भव छ’, प्रहरी उपरीक्षक कार्कीले दैनिक नेपालगन्जसँग भने, ‘एउटाले समात्नु पर्यो भन्ने र अर्को पक्षले छाड्नु पर्छ भन्ने दबाब दिने विकृतिले पनि अपराध मौलाउने अवस्था आउन सक्छ ।’ उनले तस्करी विरुद्ध बाँके प्रहरी निरन्तर सक्रिय रहेको दाबी गरे ।
व्यवसायीहरूका अनुसार, सीमा नजिकैका व्यवसायीहरूले पारीबाट तयारी कुखुरा ल्याएर नेपाली बिल खरिद गर्ने गरेका छन् । ‘प्रहरीले बिल देखेपछि केरकार गर्न छाड्छ, सम्बद्ध व्यवसायी भन्छन्, ‘जसका नाममा बिल छ, उसको फर्मसम्म पुगेर त्यति उत्पादन छ कि छैन अनुसन्धान गर्नुपर्छ ।’ उत्पादन देखिन्छ भने ४२ दिनअघि त्यतिको मात्रामा उसले चल्ला कहाँबाट किन्यो ? त्यसलाई चाहिने दाना, औषधी खरिद गरेको बिल समेत चेकजाँच गरेर वैधानिकता पुष्टि गर्नुपर्ने व्यवसायीहरूको माग छ । ‘त्यसरी सीमा क्षेत्रमा रहेका सबै व्यवसायी कहाँ छापा मार्ने हो भने यो तस्करी नियन्त्रण सम्भव हुन्छ’, बाँकेका व्यवसायीहरू भन्छन्, ‘होइन भने सबै तयारी कुखुरा भारतबाट आएपछि बाँके बर्दियाका कुखुरा व्यवसायी देखि फिड इन्डष्ट्रिजहरू बन्द हुने अवस्थामा पुग्छन् ।’
भारतबाट भित्रिने कुखुरा स्वास्थ्यका लागि निकै जोखिम हुने सम्बद्ध व्यवसायीहरूको भनाइ छ । ‘अझ बर्डफ्लु संक्रमण भएपछि त्यहाँ नबिकेका कुखुरा सस्तोमा नेपाल पठाइने गरेको’ दाबी गर्दै बाँकेका व्यवसायी भन्छन्, ‘बुस औषधी खुवाएर तौल बढाइन्छ, मृत्युदर कम गर्न एन्टिबायोटिक डोज बढाएर खानै नहुने अस्वस्थकर कुखुरा तयार हुने भएकाले नेपाल पठाइने गरेको छ ।’ भारतमा त्यसखालको कुखुरा बेच्न प्रतिबन्ध लागेपछि आधै सस्तोमा नेपाल पठाइने त्यसखालका कुखुरा तस्करहरूले दोब्बर नाफामा नेपाली व्यवसायीहरू मार्फत उपभोक्ताका घरदैलोमा पुर्याउने गरेको सम्बद्ध व्यवसायीहरूको भनाइ छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन महिनामा अबैध रूपमा भारतबाट ल्याइएका करिव ३ लाख ७६ हजार ८ सय १० मुल्य बराबरको ब्रोईलर कुखुरा र मासु नियन्त्रणमा लिई पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएको थियो ।
त्यस्तै, गत असोजमा अवैध रूपमा भारतबाट ल्याइएका ४ लाख ७० हजार मूल्य बराबरको ४ हजार ७ वटा ब्रोइलर कुखुराको चल्ला,
साउन महिनामा १ लाख ६० हजार मूल्याको १ हजार ६ सय वटा ब्रोइलर कुखुराको चल्ला पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको बाँके प्रहरीको तथ्यांक छ ।