नेपालगन्जमा ९ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाका ९ हजार ३ सय १९ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको हो ।
उपमहा नगरपालिकाका विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ९८ जना र विद्यालय बाहिर रहेका एक हजार ८ सय २१ जना किशोरीलाई खोप लगाउन लागिएको चन्दले जानकारी दिए । ९९ सय वटा विद्यालय र २३ वटा स्वास्थ्य संस्था गरी एक सय २३ वटा खोप केन्द्रबाट २९ गतेसम्म एचपिभी खोप लगाइने जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए । यही माघ २२ गतेदेखि कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने वलीले बताए ।
एचपिभी खोपबारे जनप्रतिनिधि, कर्मचारी तथा संचारकर्मीहरूलाई जानकारी दिन शुक्रबार उपमहानगरपालिकामा आयोजित अभिमुखिकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप प्रभावकारी भएकाले अभियानलाई सफल बनाउन नगर प्रमुख प्रशान्त विष्टले आग्रह गरे । नगर प्रमुख विष्टले उमेर पुगेका लक्षित बालिकाहरूलाई खोप लगाएर पाठेघरको क्यान्सर हुने जोखिमबाट बालिकाहरूलाई जोगाउन आग्रह समेत गरे ।
अभियान सफल बनाउने प्रतिबद्धता
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बाँके युनेस्को क्लबको सहकार्यमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानलाई सफल पार्न मुस्लिम समुदायका धर्मगुरुहरू र मुस्लिम शिक्षकहरूसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
माघ २२ गतेदेखि ६ फागुनसम्म बाँकेका सबै पालिकामा सञ्चालन गरिने खोप अभियानका बारेमा मुस्लिम धर्मगुरु र शिक्षकहरूलाई जानकारी गराई सबैको सहभागिता सुनिश्चित गराउन छुट्टा छुट्टै छलफल कार्यक्रम आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनले छलफल मुख्यतया १० देखि १४ वर्षका र कक्षा ६ देखि १० सम्मका मुस्लिम बालिकाहरूलाई खोप अभियानमा शतप्रतिशत संलग्न गराउने रणनीतिहरूमा केन्द्रित रहेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीको अध्यक्षतामा भएका ती दुबै कार्यक्रममा सहभागि हुनु भएका मुस्लिम धार्मिक गुरुहरू र शिक्षकहरूले खोप अभियानमा बढी भन्दा बढी समुदायका लक्षित बालिकालाई सहभागी गराउने वातावरण बनाउने प्रतिवद्धता जनाएका थिए ।
छलफल तथा अन्तरक्रियामा नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका २५ मुस्लिम धर्मगुरुहरू र ४७ जना (३३ पुरुष र १४ महिला) शिक्षकहरूको सहभागिता रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।
ती दुबै छलफल कार्यक्रमको सहजीकरण र संचालन जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही र खोप फोकल पर्सन नरेश बाबु श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले अभियान बारे जानकारी गराउँदै धर्मगुरु र शिक्षकहरूले बिशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।