सजल गैरे
बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको छ । मोबाइल मार्फत नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने लक्ष्यका साथ बाँकेमा पारिवारिक स्वास्थ्य प्रोफाईल बनाउने अभियान सुरु गरिएको हो ।
लुम्बिनी प्रदेशका तीन जिल्लामा यो अभियान सुरु गरिएको हो । यसभन्दा अघि पाल्पा र अर्घाखाँची जिल्लामा यो अभियान सुरु भइसकेको छ ।
विहीवार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले बाँकेमा अभियानको शुभारम्भ गरे । अभियानको उद्घाटन गर्दै मन्त्री सारुले मातृमृत्यूदरको तथ्याङ्क हेर्दा सुधार गर्नुपर्ने धेरै विषय देखिएको बताएका छन् । उनले मुस्लिम समुदायको बाहुल्यता रहेको बाँके जिल्लामा सामाजिक, सांस्कृतिक र भावनात्मक रहनसहन बुझेर योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले समस्या आईसकेपछि उपचार गर्ने मात्र नभएर समस्या आउनुपुर्व नै त्यसको अध्ययन गरेर समस्या नै आउन नदिने तर्फ लाग्नुपर्ने बताए ।
मन्त्री सारुले स्वास्थ्य मन्त्रालय लुम्बिनीले ५८ प्रतिशत बढी वित्तिय खर्च गरिसकेको भन्दै कामको गति अपेक्षा अनुसार नै बढेको बताए । उनले स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा काम गर्ने कर्मचारीहरुले नाम देखिने गरि व्यक्तिगत व्यवसायमा बोर्ड राख्ने काम हटाउने, आर्थिक पारदर्शिता र शुसासनका लागि सवारी सवारी साधनहरुमा जिपीएस जडान गरिएको, छात्रवृत्ति करारका विद्यार्थीहरुलाई ग्रामिण क्षेत्रका अस्पतालहरुमा पठाउनेलगाएतका काम प्राथमिकताका साथ मन्त्रालयले गरेको बताए ।
अभियान अन्तरगत सरोकारवालाहरुसंगको अन्तरक्रियामा सहजिकरण गर्दै स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले नेपालको संविधानमा स्वच्छ रुपमा बाँच्न पाउने हक भएको भन्दै स्वास्थ्य र सुरक्षित मातृत्व, बालबालिकाको हक, महिलाको हकलगाएतका विषयमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य संस्थाले जनस्वास्थ्य ऐन २०७५÷नियमावली २०७७ अनुसार ९ शिर्षक र ४५ बढी सेवा दिनुपर्ने बताए ।
सुरक्षित मातृत्व पोषण कार्यक्रमका फोकल पर्सन कुमार थापाका अनुसार, बाँकेमा ८६ प्रतिशत गर्भवती महिलाले गर्भवती जाँच गराउने र ७३ प्रतिशत महिलाले सुत्केरी पश्चात जाँच गर्ने गरेको तथ्याङ्क रहेको छ । लुम्बिनी प्रदेशमा ८० प्रतिशत महिलाहरुको मृत्यू सुत्केरी भए पश्चात हुने गरेको छ ।
बाँके जिल्लामा एक वर्ष अवधिमा ७४ जना महिलाहरु घरमै सुत्केरी भएका छन् । बाँकेमा विगत ४ वर्षमा ७६ जनाको मातृमृत्यू भएको तथ्याङ्क छ । लुम्बिनी प्रदेशका १० देखि १९ वर्षसम्मका किशोर किशोरीहरुको पोषण अवस्था राष्ट्रिय तथ्याङ्क भन्दा कमजोर रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले योजना र कार्यक्रम राम्रो भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनले स्वास्थ्य क्षेत्रका विभिन्न क्षेत्रमा अनुगमन र नियमन गर्न सके आम जनताले सुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले प्रविधि मार्फत महिलाहरुको स्वास्थ्यलाई गतिशिल बनाउने लक्ष्यका साथ यो योजना अघि सारिएको बताइन । उनले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरु घरघरमै पुगेर डाटा लिने भएकाले आगामी दिनमा बनाउने योजना र अभियानहरु सञ्चालन गर्न प्रभावकारी हुने धारणा व्यक्त गरिन् ।
अभियान सुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरु दुर्गा प्रसाद चौधरी, बादशाह कुर्मी, भण्डारीलाल यादव, सन्जु कुमारी थारु, मिना सिद्दिकी, मिना श्रेष्ठ, सुशिला नेपाली, अम्बिका काफ्ले र माया पुन, त्यसैगरी जिल्ला समन्वय प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उप प्रमुख सीता कार्की, जानकी गाउँपालिकाका प्रमुख छ्ब्बन खान, कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदी, सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, स्वास्थ्य शाखा प्रमुखहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।