‘निडर र निष्पक्ष पत्रकारिता पत्रकार महिलाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चारिका समूह बाँकेले आफ्नो २३ औँ स्थापना दिवस मनाएको छ । ‘स्थानीय शासनमा महिला सहभागिता र सञ्चारिकाको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रम गरी शुक्रबार सञ्चारिकाले आफ्नो स्थापना दिवस मनाएको हो ।
कोहलपुर नगर पालिकाका उपप्रमुख संगीता सुवेदी, वडाध्यक्ष कल्पना शर्मा अधिकारीलगायतका जनप्रतिनिधि, सञ्चारिकाका प्रदेश उपाध्यक्ष रूपा गहतराज, क्रियाशील महिला पत्रकार बाँकेकी अध्यक्ष सावित्री गिरी, पत्रकार महासंघ बाँकेको निवर्तमान उपाध्यक्ष संगीन शर्मा, प्रेस चौतारीको केन्द्रीय सदस्य विष्णु बेलवासेलगायतका पत्रकारबीच अन्तक्र्रिया गरिएको थियो ।
संचारिका समूह बाँकेका अध्यक्ष पवित्रा परियारको अध्यक्षतामा भएको २३ औँ स्थापना दिवसमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान सहित संस्थाको क्यालेन्डर विमोचन समेत गरिएको सञ्चारिका समूहका कार्यसमिति सदस्य सन्ध्या गैरेले जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगर उपप्रमुख संगीता सुवेदीले सञ्चारकर्मी र त्यसमा पनि पत्रकार महिलाहरुको हकहितका लागि उनीहरु संगठित संघसंस्थासँग आगामी दिनहरूमा कोहलपुर नगरपालिकाले समन्वय गर्ने वचन दिइन् । ‘महिलाको हक हित सुनिश्चित गर्नका निम्ति हामीले विभिन्न सीपमूलक तालिम चलाएका थियौँ,’ प्रत्येक वडाका तालिम मागअनुसारले तालिम दिएको जानकारी दिंदै उपप्रमुख सुवेदीले भनिन्, ‘तर त्यसको अपेक्षित प्रतिफल आएन ।’ उपप्रमुख सुवेदीले आगामी दिनहरूमा त्यस्ता त्रुटिहरू हुन नदिन अझै बढी कार्य गरी सशक्त महिलाहरू तयार गर्ने बताइन् ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ की वडाध्यक्ष कल्पना शर्मा अधिकारीले सञ्चारिका समूह लगायत पत्रकारहरूले हातेमालो गरेर कार्ययोजना अगाडि बढाउने बताइन् ।
विसं २०५२ सालमा स्थापना भएको सञ्चालिका समूहको बाँके शाखामा प्रथम संस्थापक अध्यक्षको रूपमा अक्षरी पोखरेलले स्थापना गर्नुभएको थियो । त्यसैगरी डा. मुना श्रेष्ठ, सृजना आचार्य, रूपा गहतराज र रुपनी जिएमको नेतृत्व हुँदै पवित्रा परियारले अध्यक्षका रुपमा कार्यभार सम्हाल्दै छन् ।