बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८३ जेठको २३ गते देखि सुरु हुने भएको छ ।
बाँके जिल्ला फुटबल संघले हरेक वर्ष आयोजना गर्ने गरेको प्रतियोगितामा बाँके जिल्लाका ८ वटा स्थानीय तहका विद्यालयहरुको सहभागिता रहनेछ ।
नेपालगन्ज रंगशालामा एक साता सम्म चल्ने प्रतियोगिता नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको हो ।
बाँके जिल्ला फुटबल संघले मेयर कप फुटबल दुई दशक देखि आयोजना गर्दै आएको प्रतियोगिता हो । सबै भन्दा पुरानो प्रतियोगिताले विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नमा महत्वपुर्ण सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनु भयो । प्रतियोगितामा करिब ३० वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशी भने संघले छिटै सार्वजनिक गर्ने जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट स्ट्राईकरलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
विद्यालय स्तरका प्रतियोगिताले हरेक वर्ष नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले मेयर कपलाई प्राथमिकताका साथ हरेक वर्ष आयोजना गरिरहेको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जनाउनु भयो । बाँके जिल्लाको फुटबल स्तरलाई बढाउन समेत मेयर कप प्रतियोगिताले सहयोग महासचिव खत्रीले बताउनु भयो ।
२७ वटा विद्यालयको सहभागिता रहेको गत वर्षको बाँके जिल्ला स्तरीय मेयर कप फुटबलको पुरुष ब्राइटल्याण्ड र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए । ब्राइटल्याण्डले सडनडेथमा कोहलपुरको ग्रीनपिस माविलाई हराउँदै च्याम्पियन बनेको थियो भने महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सले आदर्श मावि नेपालगन्जलाई ४–० ले हराउँदै उपाधि जितेको थियो । प्रतियोगितामा पुरुष तर्फ ब्राइटल्याण्डका सिरिस रावत र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भएको थियो ।
