जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यम मल्लले बाँकेमा लागुऔषध बरामद र मुद्दाको तथ्यांक घट्ने भन्दा बढ्ने क्रममा रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा शनिबार भएको ‘लागूऔषध नियन्त्रण र पत्रकारको भूमिका’ विषयक अभिमूखिकरण कार्यक्रममा प्रहरी निरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध नियन्त्रण, अनुसन्धानका क्रममा आ.व. २०८०÷०८१ मा कारोबारी तथा ओसारपोसर गर्ने २ सय ६४ जनालाई मुद्दा चलाएको जानकारी दिंदै जसमा नेपाली पुरुष २ सय ४५, भारतीय १२ जना र महिला ७ जना रहेको बताएका थिए ।
चालु आर्थिक बर्ष २०८१÷०८२ मा २ सय ३९ जनालाई पक्राउ गरिसकेको जानकारी दिंदै प्रहरी निरीक्षक मल्लले जसमा २ सय १४ नेपाली, भारतीय ८ जना, महिला १७ जनामाथि मुद्दा चलाइएको बताए ।
नेपालगन्जमा मुख्य बिक्रीवितरण, उपयोग हुने हुने लागुऔषध ब्राउन सुगर रहेको जानकारी दिंदै प्रहरी निरीक्षक मल्लले गत आ.व.मा ९ सय ९५ ग्राम ब्राउनसुगर बरामद भएकोमा चालु आ.व.मा यसको ग्राम बढेर २ केजी ४ ग्राम ८ सय ४३ मिलिग्राम बरामद भैसकेको बताए ।
जिल्ला प्रहरी कार्यालयले गत आ.व.मा १६ केजी चरेश बरामद गरेकोमा चालु आ.व.को हालसम्म चार केजी बरामद गरेको तथ्यांक रहेको छ भने अफिम गत आ.व.मा १५ केजी बरामद भएकोमा यो आ.व.मा बरामद भएको छैन ।
प्रहरी निरीक्षक मल्लका अनुसार गाँजा गत आ.व.मा ५ केजी ८ सय ६८ ग्राम बरामद भएको थियो भने यो आ.व.मा २ सय २ केजी २ सय ५० ग्राम बरामद भएको छ । त्यस्तै, कोरेक्स गत आ.व.मा ३ लिटर ३ सय मिलिटर यो आ.व.मा बरामद भएको छैन ।
नाइट्रोजेपाम गत आ.व.मा ८ सय १२ ट्बलेट प्रहरीले बरामद गरेकोमा यो आ.व.मा ३ हजार ४ सय ६५ ट्याबलेट बरामद भैसकेको छ भने गत आ.व.मा फेला नपरेको लागुऔषध ट्रामाडोल चालु आ.व.मा ५ हजार ट्याबलेट बरामद भैसकेको छ ।
‘गैर कानुनी काम भैरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो, प्रहरी टोलीले लागुऔषध विरुद्ध काम गर्दै आएको छ’, उनले भने ।