बास नेपालले एकाउन्टिबिलिटी ल्याब सँगको सहकार्यमा बाँकेका एकजना पत्रकार वृत्तचित्र ‘मेरो कथा’ तयार गरेको छ । मंगलबार विभिन्न क्षेत्रका प्रतिनिधिहरू बीच पत्रकार झलक गैरेको वृत्त चित्र ‘मेरो कथा’ सार्वजनिक गरिएको हो ।
पत्रकारिता मार्फत लोकतन्त्रका लागि पुर्याएको योगदान उजागर गर्न वृत्तचित्र तयार गरिएको बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।
बासले एकाउन्टिविलिटि ल्यावसँग युवा नेतृत्व र जवाफदेही परियोजना सञ्चालन गरिरहेको छ । यसअघि बाँकेमा पत्रकार सन्तोष रेग्मीले प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त (चाचाजी)को जीवन संघर्षमा आधारित वृत्तचित्र बनाएका थिए ।
सशस्त्र माओवादी संघर्षदेखि २०६२÷६३ को जनआन्दोलनसम्म लोकतन्त्रको पक्षमा जनताको हक र हितको लागि पत्रकारिताको माध्यमबाट आवाज उठाएको र कलम चलाएको योगदानको आधारमा उक्त विृत्तचित्र निर्माण भएको बास नेपालले जनाएको छ ।
वृत्तचित्रमा झलक गैरेको आत्मकथा, संघर्षको यात्रा, पत्रकारिताको इतिहास र भूमिका, पत्रकारिता क्षेत्रमा संगठनात्मक रूपमा गरेको योगदान, युवा पिढीलाई दिएको सद्मार्ग, लोकतन्त्रका लागि चालेका अभियानहरू, लोकतन्त्रको लागि लडिरहँदा भोगेका अनुभवहरू समेटिएको छ ।
वृत्तचित्र प्रदर्शनमा पत्रकार गैरेले आफुले एक्लै सुरुवात गरेको अभियानलाई समाजले उच्च मूल्यांकन गरेकोमा गर्वको महसुुस भएको बताउँदै आम युवाहरूलाई विदेशको सपना त्यागेर स्वादेशमै मातृभुमिको लागि पसिना बगाउन सुझाव दिए । उनले युवाहरूलाई सचेत गराउँदै आम युवाहरू अहिलेको अवस्थामा उचित मार्गदर्शनको खोजिमा रहेको र समाज तथा देशको राजनैतिक अवस्थाले युवालाई सही मार्गदर्शन गर्न नसकेको तर्क प्रस्तुत गरे ।
नेपाल पत्रकार महासंघ बाँके जिल्लाका अध्यक्ष नविन गिरीले आफुले अंगालेको पेशाको व्यक्तिको वृत्तचित्र निर्माण भएकोमा समग्र पत्रकार जगतकै शिर उच्च भएको तर्क दिँदै बास र एकाउन्टिविलिटि ल्यावलाई धन्यवाद ज्ञापन गरे । उनले पत्रकार गैरेले केवल आफुले मात्र पत्रकारिता पेशालाई स्थापित गर्दै सम्मानित पेशा निर्माण मात्र नगरी युवा पुस्तालाई समेत पत्रकारितामा डो¥याउन प्रेरणा प्रदान गरेको बताए ।
कार्यक्रममा सामाजिक अभियान्ता दिपेन्द्र कुमार जोशीको लागुऔषध विरुद्धको अभियानमा केन्द्रित रहेर बास नेपालले तयार गरेको अर्को वृत्तचित्र समेत सार्वजनिक गरिएको थियो ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले पत्रकार गैरे पत्रकारिताको ऐना भएको र उक्त ऐनाबाट समाजमा दैनिक नेपालगन्जका नामबाट संसार नियाल्न पाएकोमा खुशी व्यक्त गर्दै यस्तो उनले पत्रकारिता र लोकतन्त्रका लागि गरेको संघर्षको प्रशंसा गरे । उनले सामाजिक अभियन्ता जोशीले लागु औषध विरुद्ध चालेको कदमको उच्च सम्मान गर्दै लागु औषध दुव्र्यसन रोक्न सबै लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा दिपेन्द्र कुमार जोशीले लागु औषध नियन्त्रको लागि आफुले निरन्तर प्रयास गरिरहेको र उक्त अभियानमा सवै जुट्न आग्रह गरे ।
बासका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षता भएको कार्यक्रमा पत्रकार, शिक्षक, सामाजिक संघसंस्थाको प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न पेशमा संलग्न युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहरले गरेका थिए भने बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । सोही कार्यक्रममा युथ लिडरशीप बारे दिइएको तालिमका सहभागीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।