विश्व वातावरण दिवस २०२५ को अवसरमा बिहीवार नेपालगन्जमा वातावरण संरक्षण र प्लास्टिक प्रदूषण न्यूनीकरणको सन्देशसहितको सचेतनामूलक साइकल र्याली भव्यताका साथ सम्पन्न भएको छ।
वन डिभिजन कार्यालय, नेपालगन्जको सहकार्यमा नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजना गरेको यस र्यालीले नगर परिक्रमा गर्दै आम जनसमुदायलाई वातावरण संरक्षणको महत्वबारे सूचित गरेको थियो।
र्यालीको मुख्य उद्देश्य वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने, प्लास्टिक प्रदूषणलाई निरुत्साहित गर्ने र साइक्लिङ्ग संस्कृतिलाई विकास गर्नु रहेको थियो। सहभागी साइकल यात्रीहरूले “प्लास्टिक प्रदूषण रोकौँ, वातावरण जोगाऔँ,” “साइकल चढौँ, स्वस्थ रहौँ,” जस्ता नाराहरू लगाएका थिए।
नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदीप सापकोटाले यसखालका कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले र्यालीले नेपालगन्जमा वातावरण संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको बताए ।