नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता आइतवार सकिएको छ । आइतवारको फाइनल खेलमा छात्रतर्फ ब्राइटल्याण्ड स्कुल च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा भएको प्रतियोगिताको पुरुषतर्फ ब्राइटल्याण्ड स्कुलले सडनडेथमा ग्रीनपिस माविलाई हराउँदै च्याम्पियन बनेको हो ।
निर्धारित समयमा पुरुषतर्फको खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा पनि राबरी भएपछि खेलको नतिजा सडनडेथमा निकालिएको थियो ।
ब्राइटल्याण्डलाई च्याम्पियन बनाउनको लागि अनमोल गुरुङ, जोन थारु, श्रीस रावत, जटिन लामा गुरुङ र दिक्सान बुढाले गोल गरे । ग्रीनपीसको लागि विशाल थापा मगर, बिराज रोकाय, डेविट तामाङ, दिपेश भण्डारीले गोल गरे ।
फाइनल खेलको प्लेयर अफ द म्याचको ट्रफी ब्राइटल्याण्डका खेलाडी दिक्सानले जिते ।
त्यस्तै छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले उपाधि उचालेको छ । आदर्श मावि नेपालगन्जलाई ४–० ले पराजित गर्दै सेन्ट जेभियर्सले उपाधि उचालेको हो ।
आइतवारको फाइनल खेलमा नेपालगन्ज सेन्ट जेभियर्सको लागि रमिता कुमारी बडुवाल र रेश्मा थारुले २–२ गोल गरे । रमिताले २५औं र २६औं मिनेट तथा रेश्माले ४५औं र ५७ औं मिनेटमा गोल गरेका थिए । खेलमा नेपालगन्ज सेन्ट जेभियर्सकी रमिता कुमारी बडुवाल प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन् ।
प्रतियोगितामा पुरुषतर्फ ब्राइटल्याण्ड स्कुलका श्रीस रावत र महिलातर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत भए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा फागुन २६ देखि सुरु भएको प्रतियोगितामा बाँके जिल्लाका २१ वटा पुरुष टिम र ६ वटा महिला टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता दुबै टिमले नगद ३० हजार रूपैयाँ, उपविजेताले १५ हजार रूपैयाँ र सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रूपैयाँ प्राप्त गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतले विजयी खेलाडीलाई पुरस्कृत गरेको महासचिव कमल खत्रीले जानकारी दिए ।